काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूको जोड अहिलेको सत्ता गठबन्धन जोगाउनेमा रहेको बताएका छन् ।
गठबन्धनको बैठकअघि बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन बचाउनेमै रहेको बताएका हुन् । उनले एमसिसीलाई निकास दिनेबारे छलफल भएको बताए ।
उनले भने, ‘आज पाँच बजे मिटिङ छ । त्यसको तयारीका लागि हामी बसेका हौं। हामी तीन दल एक हुनुपर्छ भन्नेमा लागेका छैनौं। पाँचै दललाई कसरी बचाउने र एमसिसीलाई कसरी निकास दिने भन्नेमा हाम्रो प्रयास छ, हाम्रो जोड यो गठबन्धन कसरी बचाउने भन्नेमै छ ।’
तीन नेताको छलफलमा गठबन्धनको बैठकका एजेण्डाबारे छलफल भएको थियो । पाँच दलीय सत्तारूढ गठबन्धनको बैठक अहिले साँझ पाँच बजे बस्दैछ।