काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पारित गर्ने पक्षमा दौडधुप गरिरहेका छन् । यत्तिखेर देउवालाई सत्ताभन्दा ठूलो एमसीसी भएको छ । तर, सत्तारुढ दल भने एमसीसी बेटुल गर्न नै नदिने पक्षमा पुगेका छन् ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदलीय दलले संसदमा जबरजस्ती एमसीसी टेबुल गरिए सरकार छोड्ने निर्णय गरिसकेको छ । कांग्रेसले त जसरी पनि टेबुल गर्ने कार्यसम्पादन समितिको बैठकबाटै निर्णय गरिसकेको छ । तर, सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले भने आधिकारिक निर्णय सार्वजनिक गरेको छैन ।
एमसीसीका कारण राजनीति पेचिलो मोडमा पुगेसँगै एकीकृत समाजवादीलाई पनि धारणा सार्वजनिक गर्न दबाब छ । र, धारणा सार्वजनिक गर्ने अवस्थामा पुर्याएको छ । त्यसो त एकीकृत समाजवादीका युवा विद्यार्थी एमसीसीविरुद्ध सडकै उत्रिसकेका छन् ।
एमसीसीबारे धारणा सार्वजनिक गर्न दबाब बढेसँगै एकीकृत समाजवादी छलफलमा जुटेको छ । बुधबार निकै लामो समय सचिवालय बैठक चल्यो । सचिवालय बैठकमा एमसीसी, गठबन्धन र सरकारबारे पहिलो चरणको धारणा तय गरेको छ ।
अहिलेकै अवस्थामा एमसीसी टेबुल गर्ने र पारित गर्ने विषयका विपक्षमा उभिनुपर्ने सचिवालय बैठकको निष्कर्ष हो । उक्त निष्कर्ष शनिबार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत हुने र स्थायी कमिटीले एमसीसीबारे आधिकारिक धारणा सार्वजनिक गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बुधबार सम्पन्न सचिवालय बैठकमा गठबन्धन र सरकारबारे लामो छलफल भएको थियो । एमसीसी टेबुल गरेर अनुमोदन गर्ने सर्तमा गठबन्धन टिकाइराख्नु र सरकारमै बसिरहनु उचित नहुने सचिवालय बैठकको निष्कर्ष रहेको नेताहरुले बताएका छन् ।
ति नेताले भने– ‘राष्ट्रहित र जनभावना भन्दा ठूलो कुरा केही हुँदैन । एमसीसी अनुमोदन गर्ने सर्तमा सरकारमा बसिरहन सकिन्न । आइपरे सरकार छोड्न सकिन्छ । तर, आवश्यक संशोधन नगरी एमसीसी पारित गर्ने पक्षमा हाम्रो पार्टी छैन ।’
सचिवालय बैठकमा एमसीसीका कारण सत्ता गठबन्धनमा पर्नसक्ने असरबारे पनि लामै छलफल भएको छ । प्रवक्ता खतिवडाले भने– ‘अहिलेकै अवस्थामा एमसीसी टेबुल नगर्ने र गठबन्धन पनि जोगाउने हाम्रो प्रयास हो । हामी अन्तिमसम्म गठबन्धन जोगाउने पक्षमा छौं । हाम्रो प्रयत्न रहनेछ । अन्तिमसम्म प्रयत्न गरे पनि गठबन्धन नजोगिने अवस्था आयो भने हामीले भन्नु केही छैन । तर, हामी एमसीसीकै कारण गठबन्धन तोडियोस भन्ने पक्षमा छैनौं ।’
बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि संक्षिप्त प्रतिकृया दिँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गठबन्धन जोगाए अघि बड्ने प्रतिकृया दिए । उनले भने- ‘एमसीसीकै कारण सत्तारुढ गठबन्धन तोडिन्छ भन्ने लाग्दैन । हामी अन्तिमसम्म गठबन्धन जोगाउने पक्षमा छौं ।’
त्यसैगरी, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि बारम्बार गठबन्धन कायम रहने भन्दै आएको छ । तर, एमसीसी कारण भएको मत विभाजित हेर्दा सत्तारुढ गठबन्धन जोगिने सम्भावना कम हुँदै गएको देखिन्छ । किनकी, गठबन्धनका दुई ठूला दल माओवादी र एकीकृत समाजवादी विपक्षमा उभिदा सत्ता नेतृत्व दल भने एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेको छ । त्यसैगरी, जनता समाजवादी पार्टी (जसपा)का बहुमत सदस्य पनि एमसीसीको विपक्षमा रहेका छन् । यस्तो अवस्थामा एमसीसीकै कारण गठबन्धन टुट्ने सम्भावना धेरै रहन्छ ।
जनमत मक्षमा पार्ने दाउ
नयाँ दल भएकाले एकीकृत समाजवादीले एमसीसीलाई जनमत बनाउने अवसरको रुपमा लिएको छ । एमसीसीविरुद्ध बलियो ढंगले उभिने र एमसीसी विरोधी जनमत आफ्नो पक्षमा पार्ने एकीकृत समाजवादीका आधारभूत तयारी हो । एमाले एमसीसीको पक्षमा उभिएकाले पनि एमसीसीको विपक्षमा उभिनु फाइदाजनक हुने एकीकृत समाजवादीको विश्लेषण हो ।
एमसीसीविरुद्धको जनमत आफ्नो पक्षमा पार्नकै लागि एकीकृत समाजवादीले जनसंगठनहरुलाई सडकमा उतारिसकेको छ । निर्वाचन नजिकिएको बेला एमसीसीविरुद्ध बलियोसँग उभिने राजनीतिक दललाई सहानुभूति मिल्ने भएकाले पनि एकीकृत समाजवादी डटेर एमसीसीविरुद्ध लाग्ने पक्षमा देखिन्छ ।