काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्व गठन गरिएको छनोट समितिले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका मध्येबाट सरकारले हमाललाई नियुक्त गरेको हो ।
बोर्डका अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा। गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम पनि सिफारिस भएको थियो ।
अध्यक्ष नियुक्त भएपछि हमालले नेपालको शेयर बजारको विकास र विस्तारमा आफूले इमान्दार प्रयास गर्ने बताएका छन् । साना लगानीकर्ताको हित र बजारको विविधीकरण गर्न आफूले सक्दो प्रयास गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
नेपालको शेयर बजारलाई बलियो र सक्षम बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो सपना रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।
सामान्य झट्काले समेत प्रभाव पार्ने शेयर बजारलाई व्यवस्थित एवं मर्यादित बनाउने र प्राकृतिकरूपमा चल्ने बनाउन प्रयास गर्ने नवनियुक्त अध्यक्ष हमालले बताए । बजारको विविधीकरण नहुँदासम्म शेयर बजारले स्थायित्व पाउन नसक्ने भएकाले सो कार्यमा आफू दत्तचित्त भएर लाग्ने उनको भनाइ छ ।
बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना एक सिमेन्ट कम्पनीको शेयर प्रकरणमा मुछिनु भएपछि सरकारले उनलाई हटाएको थियो । पछिल्लो छ महिनादेखि बोर्डको अध्यक्ष खाली थियो । अध्यक्ष नियुक्त नहुँदा शेयर बजारसम्बन्धी विभिन्न विषयगत र नीतिगत काममा अवरोध भइरहेको थियो ।
डोटीको सिलगढीमा जन्मेका हमालले एशियन इस्टिच्यूट अफ टेक्नोलोजी बैंककबाट एमबिए गरेका छन् । झण्डै २९ वर्षदेखि सार्वजनिक तथा निजी क्षेत्रमा सेवारत हमालले २० वर्ष त व्यवस्थापन क्षेत्रमा नै काम गरेका छन् ।
सन् २००७ देखि सन् २०१० सम्म गैरआवासीय नेपाली सङ्घ थाइल्याण्डको अध्यक्ष बन्नुभएका हमाल थाई–नेपाल चेम्बर अफ कमर्स बैंककको उपाध्यक्षसमेत बनेका थिए ।