काठमाडौं । एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वकीय सचिव रमेश मल्लका अनुसार शुक्रबार बिहान पुनः गठबन्धनको बैठक बस्ने छ । उनले भने, ‘आजको बालुवाटार बैठक सकियो । गठबन्धनका शीर्ष नेतृत्वको बैठक भोलि बिहान नौ बजे बालुवाटार बोलाइएको छ ।’
जसरी पनि एमसीसी टेबल गरेर पास गर्नुपर्ने तयारीमा जुटेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि निर्णायक छलफल गर्न लागेका हुन् । तर दलहरुले आ-आफ्नै अडान नछाडेपछि आजको बैठक बिना निष्कर्ष टुंगियाे ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी थिए ।