Logo
Logo

प्रचण्ड-माधवको प्रस्तावले प्रधानमन्त्रीलाई अपरझट बालकोट पुर्यायो


24.2k
Shares

काठमाडौं । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्यो । उक्त बैठकलाई सत्तारुढ गठबन्धनको लगभग अन्तिम बैठकको रुपमा हेरिएको थियो । तर, भोली पुनः छलफल गर्ने सहमतिले त्यो खतरा भोली विहान ९ बजेसम्मका लागि टर्यो ।

प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने र सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कुनै पनि हालतमा संसदमा पेस गर्न नदिने अडानमा हुँदा सत्ता गठबन्धन टुट्ने खतरा देखिएको हो । त्यसलाई पुष्टि गर्ने धेरै आधार छन् ।

सत्तारुढ माओवादी केन्द्रले यसअघि नै एमसीसी अनुमोदनका लागि जबरजस्ती संसदमा पेस गरिए सरकार छोड्ने निर्णय गरिसकेको छ । सँगै, एकीकृत समाजवादीले पनि कुनै पनि हालतमा अहिलेकै अवस्थामा एमसीसी संसदमा लैजान नमिल्ने र नसकिने भनिसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने अवस्थामा गठबन्धन टुट्ने खतरा स्वभाविक रहन्छ । त्यसैल आजको बैठक वर्तमान सत्ता गठबन्धनको निर्णायक र अन्तिम छलफल भनिएको थियो ।

गठबन्धनको अन्तिम बैठकको रुपमा हेरिएको आज साँझाको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको एउटा प्रस्तावले भोलीसम्म गठबन्धनको आयु थपेको छ ।

बालुवाटार बैठकमा प्रचण्ड र माधवले प्रधानमन्त्रीसँग एमसीसी संसदमा लैजाने हो भने संसदमा जारी एमालेको अवरोध हट्नुपर्ने सर्त राखे । प्रचण्ड र माधवको भनाइ थिए, ‘विगतमा कुनै पनि सहयोग वा अनुदान संसदबाट अनुमोदन गरिएको छैन । त्यसैले एमसीसीको विषयमा व्यापक छलफल हुनुपर्छ । छलफलका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि तयार हुनुपर्छ । एमालेले संसद अवरोध हटाउनुपर्छ । त्यसपछि अगाडि बढ्न सकिएला ।’

प्रचण्ड र माधवको उक्त प्रस्तावलाई ग्रीन सिग्नलको रुपमा लिएका प्रधानमन्त्री देउवा भोली विहान ९ बजे अर्को बैठक बसौं भनेर सिधैं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट हानिए । बालकोटमा देउवा र ओदीबीच लगभग २ घण्टा छलफल भयो ।

प्रधानमन्त्री देउवा बालुवाटारबाट बालकोट बाटो लाग्दा ओली खाना खाने तयारी गर्दै थिए । तर, पत्नी आरजु राणासहित प्रधानमन्त्री देउवा आउने खबर पाएपछि डिनर टिमको तयारी भयो ।

प्रधामन्त्री देउवाले ओलीलाई प्रचण्ड र माधवको प्रस्ताव सुनाएका थिए । तर, ओली उक्त प्रस्तावमा त्यति सकारत्मक देखिएनन् । सदन अवरोध र एमसीसीबीच कुनै सम्बन्धन नरहेको ओलीको प्रतिकृया थियो । तर, संसदमा अनुमोदनका लागि एमसीसी पेस भए आफ्नो पार्टीले पक्षमा मतदान गरेर सहयोग गर्ने प्रधानमन्त्रीलाई आश्वासन दिए । ओलीबाट अपेक्षाकृत जवाफ नपाएपछि प्रधानमन्त्री देउवा बालकोटबाट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्