काठमाडौं । भारतको विशेष अदालतले करिब १४ वर्षअघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।
भारतीय मिडियाका अनुसार सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । जसमध्ये ४९ जना दोषी ठहर भएका हुन् भने २८ जनाले भने सफाइ पाएका छन् ।
१३ वर्षदेखि चलेको सुनुवाइको क्रममा १ हजार १६३ जनाको बयान लिइएको बताइएको छ । प्रहरी र कानुन व्यवसायीहरुले ६ हजारभन्दा बढी प्रमाण जुटाएका थिए ।
भारतको अहमदावाद विशेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसलामा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।