काठमाडौं । ट्रान्सजेन्डर मोडल अञ्जली लामा चर्चित फेसन सप्ताह ‘न्युयोर्क फेसन विक’मा सहभागी भएकी छन् । बुधबार न्युयोर्कमा सम्पन्न उक्त फेसन शोमा नेपालकी पहिलो ट्रान्सजेन्डर मोडलको रुपमा अञ्जलीले क्याटवाक गरेको फेसन म्यागाजिन भोगले जनाएको छ ।
न्युयोर्क फेसन विकले ग्ल्यामर दुनियाँकै ध्यान खिच्ने गर्छ । यो विश्वको चार प्रमुख फेसन विकमध्ये एक हो । जसलाई ‘बिग फोर’को रुपमा पनि चिनिन्छ । जसमा विश्वचर्चित फेसन डिजानरले आफ्ना डिजाइनलाई मोडलमार्फत प्रस्तुत गर्छन् ।
यस वर्ष अञ्जलीले नेपाली मूलका विश्वप्रसिद्ध फेसन डिजाइनर प्रवल गुरुङको डिजाइनमा ¥याम्पमा उत्रिएकी हुन् । मिसेल ओबामा, ओप्रा विन्फ्रे र साराह जेसिका पार्करजस्ता विश्वचर्चित सेलिब्रेटीहरूको फेसन डिजाइन गरिसकेका गुरुङले यस वर्षको शोको क्याटवाकका लागि अञ्जलीलाई छनोट गरेका थिए ।
यसअघि गुरुङले सन् २०११ मा नेपाली मोडल वर्षा थापालाई सोही फेसन विकको ¥याम्पमा हिँडाएका थिए । नुवाकोटकी लामाको अन्तर्राष्ट्रिय फेसन प्लेटफर्ममा पहिलो सहभागिता हो । सन् २०१७ मा उनी ल्याक्मी फेसन विकको रनवेमा सहभागी भएकी थिइन् ।