Logo
Logo

निर्वाचनको मुखमा प्रहरीमा राजनीति


261.8k
Shares

काठमाडौं । निर्वाचन नजिकिदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अस्वभाविक चलखेल बढेको छ ।

संगठनको आगामी नेतृत्व चयनदेखि अन्य सरुवा बढुवामा चलखेल बढेकोले सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप झन् बढ्ने र यसले सुरक्षा निकायलाई थप कमजोर बनाउने जोखिम देखिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा स्थानीय तह निर्वाचनको मुखमा नेतृत्व परिवर्तन हुँदैछ । दुवै प्रहरीमा नेतृत्व चयनका लागि अहिलेदेखि नै दौडधुप र चलखेल सुरु भइसकेको छ । सरकारले नै चलखेलका लागि माहोल बनाउँदा प्रहरीमा अस्वस्थ गतिविधि बढेको हो ।

सशस्त्र प्रहरीमा आगामी २८ चैतमा नेतृत्व फेरिदैछ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चार वर्षे सेवाअवधि पुरा गरी अवकाश पाउँदैछन् । त्यसपछि तीन हप्ताका लागि उनकै ब्याचका पुष्पराम केसी र रामशरण पौडेलमध्ये एक आइजीपी हुनेछन् ।

तर, निर्वाचनको मुखमा तीन हप्ताका लागि आइजीपी नियुक्त गर्न नहुने भनेर समेत लबिइङ भइरहेको छ । खनालसँग महानिरीक्षकको प्रतिस्पर्धामा रहेका केसी सशस्त्र प्रहरी महानिरीक्षकका रुपमा आफ्नो नाम लेखाउने रहरमा छ । तर, उनलाई अर्का एआइजी पौडेलले पनि टक्कर दिइरहेकाले तीन हप्ता आइजिपीमा समेत चलखेल हुने सम्भावना देखिएको छ ।

अर्काेतर्फ, सशस्त्रमा एआइजीको दरबन्दी थप्ने हल्ला फिजाएर सरकारले नै अस्वस्थ गतिविधिलाई प्रोत्साहन दिएको सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् ।

गत साता अवकाश पाएका डीआइजीद्वय खड्ग राई र मन्दीप श्रेष्ठमध्ये एकलाई बढुवा गर्न एआइजीको दरबन्दी थप्ने प्रयास भएको थियो । तर, उनीहरुले गृहमन्त्री बालकृष्ण खाणलाई खुशी बनाउन नसकेपछि त्यो निर्णय भएन । तर, एआइजी थप्ने भनेर हल्ला फिजाएपनि अन्य डीआइजी पनि लबिइङमा लागेका थिए ।

स्रोतका अनुसार हालसम्म त्यससम्बन्धि कुनै प्रक्रिया नै अघि बढेको छैन । ‘हल्ला फिजाएर चलखेल गराउने काम मात्र भयो,’ सशस्त्रका ती अधिकारीले दृष्टिसँग भने ।

सशस्त्र प्रहरीको नेतृत्वमा डीआइजीहरु राजु अर्याल, नारायदत्त पौडेल तथा चन्द्रप्रकाश गौतमबीच सशस्त्र प्रहरी महानिरीक्षकमा प्रतिस्पर्धा हुँदैछ । उनीहरुमध्ये एकलाई अहिले नै एआइजीको एक दरबन्दी थपेर भावी आइजीपीमा पक्का गर्ने भनेर केही बिचौलियाहरु सक्रिय भएका छन् । यसले सशस्त्र प्रहरी नेतृत्व चयनमा आर्थिक चलखेल हुने संकेत देखिएको छ ।

नेपाल प्रहरीमा पनि अवस्था त्यस्तै छ । प्रहरीमा १९ बैशाखमा नेतृत्व परिवर्तन हुनेछ । त्यसका लागि मुख्यगरी दुई एआइजी स्वभाविक प्रतिस्पर्धामा छन् । एआइजी विश्वराज पोखरेल र सहकुलबहादुर थापा । दुवै जनालाई तत्कालिन केपी ओली सरकारले विशेष दरबन्दी थपेर बढुवा गरेको थियो । दुवै जना त्यतिबेला एमाले निकट रहेकोमा अहिले कांग्रेस निकट बन्ने प्रतिस्पर्धामा छन् ।

लामो प्रयासपछि गत बिहीबारको मन्त्रिपरिषद्को बैठकले एआइजीको दरबन्दी थप्ने निर्णय गरेको छ । तर, त्यसलाई अझै औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । शुक्रबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेको मन्त्रिपरिषद्का निर्णयमा एआइजी थपको विषय छैन । स्रोतका अनुसार संख्या थपघट गर्नका लागि भनेर सार्वजनिक नगरिएको छ ।
एआइजी बढुवामा एक दर्जन डिआइजीहरु प्रतिस्पर्धामा छन् । विश्वराज पोखरेल र सहकुल थापाकै ब्याचका डिआइजीको सम्भावना बलियो छ । जसमा धीरजप्रताप सिंह, उत्तम सुवेदी, रबिन्द्र धानुक लगायत छन् । उनीहरुको सत्ता गठबन्धनसँग राम्रो सम्बन्ध भएकाले पनि बढुवामा सम्भावना बढेको हो । अहिले एआइजी भए बैशाखमा आइजिपीको प्रतिस्पर्धामा भइने उनीहरुको विश्वास छ ।

साथै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याचका घनश्याम अर्याल, ईश्वरबाबु कार्की, बसन्त पन्त लगायत पनि अवकाशअघि बिशिष्ट श्रेणीमा जाने महत्वाकांक्षामा छन् । बसन्त लामा, दिवेश लोहनी, अरुण बिसी लगायतको पनि प्रयास छँदैछ ।

गठबन्धन सरकार भएकाले आकांक्षीहरुले विभिन्न नेतामार्फत लबिङग गरिरहेका छन् । जसकारण बढुवा रोकिएको छ । एआइजीमै यति धेरै चलखेल हुनुले आइजीपी बढुवा झन् पेचिलो बन्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्