एक समय ‘घरै हाम्रो पूर्वाञ्चल’ बोलको गीत निकै लोकप्रिय थियो । पूर्वेली लयको यसै गीतमार्फत चिनिएकी गायिका हुन्, तारा थेबे । हुन त उनका अरु पनि गीत चर्चित छन् । तारा भन्छिन्, ‘मलाई पहिलोपटक चिनाउने गीत यही हो ।’ गायिका थेबेले नेपाली गीतसंगीतमा एक दशक बढी बिताइसकेकी छन् । ताप्लेजुङको सिनाममा जन्मिएर मोरङमा हुर्केकी थेबेले हालसम्म ७० भन्दा बढी गीतमा स्वर दिएकी छन् । दुई सोलो र एक संयुक्त गरी तीन एल्बमकी गायिका थेबेको आफ्नै अडान छ । उनी भन्छिन्, ‘संगीतकारलाई मलाई गीत देउ भन्दै मागेकी भए सयौँ हुन्थ्यो होला । तर, अहिलेसम्म गाउन देउ भनेर कुनै संगीतकारलाई भनेकी छैन ।’ सानोमा नाच्दानाच्दै गायिका बन्ने रहर जागेको बताउँने गायिका थेबेसँग दृष्टिको जम्काभेट :
हिजोआज तपाईँका दिन कसरी बित्दैछन ?
साथीभाइसँग भेटघाटमै बितिरहेको छ । भर्खरै एउटा गीत रेकर्डिङ गरेकी छु । भिडियो बनाउन बाँकी छ ।
गीतसंगीत क्षेत्रमा लाग्नुभएको धेरै भयो हैन ?
२०५९ सालदेखि नै गीतसंगीतको क्षेत्रमा लागेकी हुँ । तर, एल्बमचाहिँ २०६५ सालतिर ल्याएकी हुँ । योजना पुरीसँग संयुक्तरुपमा ‘न्यू वे’ एल्बम ल्याएका थियौँ । यो नै मेरो पहिलो एल्बम हो ।
के सोचेर गायनमा लाग्नुभयो ?
म सानोमा खुबै नाच्न रुचाउँथे । देउसीभैलामा खुबै नाच्थे । त्यसरी नाच्दानाच्दै गाउने रहर जाग्यो । त्यसपछि गायन रोजेकी हुँ ।
नाच्न मन पराउने नायिका हुनुपर्ने होइन र ?
सानोमा मात्र नाच्थे । १५ वर्षको उमेरदेखि नाच्न छाडेँ । त्यो बेला विवाह समारोह र तिहारमा गाउने चलन थिएन । त्यसैले नाचिन्थ्यो ।
पहिलोपटक काठमाडौं केका लागि आउनुभएको थियो ?
गायिका बन्नकै लागि काठमाडौं आएकी हुँ । योजना पुरीसँग एल्बम निकाल्न भनेर २०६५ सालमा काठमाडौं आएँ । त्यतिखेरै हामीले ‘न्यू वे’ एल्बम ल्यायौँ । त्यसपछि मेरो औपचारिक सांगीतिक यात्रा अगाडि बढेको हो । त्यतिखेर एल्बम निकाल्ने चलन थियो । मैले ‘धैर्य’ र ‘सोल्टीज्यू’ सोलो एल्बम निकालेँ । त्यसपछि विस्तारै एल्बम निकाल्ने चलन हराउँदै गयो ।
तपाईँलाई चिनाउने पहिलो गीत कुन हो ?
पहिलो एल्बम ‘न्यू वे’मा समावेश ‘घरै हाम्रो पूर्वाञ्चल’ले नै मलाई गायिकाका रुपमा चिनाएको हो । त्यसपछि ‘धैर्य’ एल्मबको ‘नक्कले कान्छा’ गीतले थप चर्चामा ल्यायो ।
अहिलेसम्म कति गीत गाउनुभयो ?
खाशै धेरै गाएकी छैन । ६०–७० वटा पुगे होलान । अहिलेसम्म कुनै संगीतकारलाई गीत मागेकी छैन । यो मेरो आत्मसम्मान हो । यदि, गीत गाउनलाई माग्दै हिँडेको भए नाम वा बदनाम जे पनि हुन्थ्यो होला ।
गायन पेसाबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । आजसम्म मैले जति गीत गाएँ, त्यसबाट मेरो नाम रहला वा नरहला । तर, आफ्नो पेसालाई सम्मान गर्छु । साथै, खुसी छु ।
नेपाली गीतसंगीतमा के परिवर्तन पाउनुभएको छ ?
पहिले गीतसंगीतलाई पुजा गरिन्थ्यो । कला र गलाको सम्मान हुन्थ्यो । तर, अहिले पैसा भएपछि जो पनि गायक र नायक बन्न सक्छ । त्यसैले कलाको सम्मान नै हुन छाडेको छ ।
तपाईँले आफ्नो भाषाको पालाम गाउनुभएको छ कि छैन ?
मलाई पालाम गाउन आउँदैन । तर, रहरचाहिँ छ । ताप्लेजुङमा जन्मिएकी भएपनि मोरङको उर्लाबारीमा हुर्केकी हुँ । मधेसमा धाननाच हुँदैन । अबचाहिँ सिकेर गाउनुपर्ला भन्ने सोच्दैछु ।
त्यसोभए धाननाचको अनुभव छैन ?
अनुभव छ । काठमाडौंमा आएपछि उधौली उभौलीमा चुम्लुङमा नाचेकी छु । पहिलोपटक केटाको हात समाएर धाननाच नाच्दा रमाइलो लाग्यो ।
सिंगल हुनुहुन्छ । घरजम गर्ने सोच बनाउनुभएको छैन ?
माया गर्छु भन्नेहरू त पहिले पनि थिए । अहिले पनि छन् । तर, मलाई मायामा विश्वास नै लाग्दैन ।
एकदिन त घरजम गर्नुपर्छ नि होइन र ?
हो, तर, विवाह भन्ने कुरा यो दिन गर्छु भनेर हुँदैन । समय आएपछि हुने हो । त्यो समय अवश्य एकदिन आउँछ होला ।