काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक आज विहान १० बजे बस्न लागेको हो । एमसीसीलाई संसदमा अनुमोदन गर्नका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् । तर दलहरुबीच सहमति भएपछि मात्र यसलाई टेबल गर्नुपर्ने अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् ।
गठबन्धनको अर्को घटक जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने संसद्बाट तत्काल एमसीसी अनुमोदन गर्नुपर्ने बताउँदै आएका छन् ।
उनले बिहीबार साँझ प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गरी एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन आग्रहसमेत गरेका थिए ।
सहमतिअनुसार यही फागुन १६ गतेसम्ममा एमसीसीको समयसीमा रहेको छ ।
आजको बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्षनेताहरू सहभागी हुनेछन् ।