काठमाडौं । सत्तारुढ गठबन्धन दलबीच अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सहमति भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज संसदमा एमसीसी टेबल गर्ने सहमति भएको जानकारी दिएका हुन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै अनुमोदन हुनुपर्ने पक्षमा छ । तर, गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमति नजुटाइ एमसीसी पास गर्न नहुने अडानमा छ ।
एकीकृत समाजवादी भने एमसीसी पेस भएपनि संशोधनबिना पास गर्न नहुने अडानमा छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आज एमसीसी संसदमा पेस हुने बताए । बैठकपछि उनले आजको बैठकमा दलहरुबीच एमसीसी संसदमा टेबल हुने सहमति भएको जानकारी दिए ।
लामो वादविवादपछि गठबन्धन दलबीच एमसीसी संसदमा पेस गर्ने सहमित भएको हो । संसदमा पेस गर्ने सहमित भएपनि यथास्थितिमा पास हुन नदिने अडानमा नेकपा माओवादी र एकीकृत समाजवादी रहेका छन् ।