काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदमा एमसीसी टेबल गर्न असहमति जनाएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतकलगायतका नेताहरुले लिखित असहमति पत्र पेश गरेका हुन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरस्थित कमल हलमा बसेको बैठकमा सचेतक देव गुरुङ, सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा राखेको असहमति पत्र पेस गरेका हुन् ।
आजै बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले एमसीसी संसदमा टेबल गर्ने सहमति गरेको थियो । तर, सत्ता गठबन्धनभित्र अझै एमसीसीबारे मतभेद कायमै देखिन्छ ।
गठबन्धनको निर्णयपछि नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले अपत्ति जनाएका छन् । यस्तै, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि एमसीसीको विरोध कायम नै रहेको बताएका छन् ।