Logo
Logo

आयल निगमको जग्गा गायब


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा देशभरीका सार्वजनिक तथा सरकारी जग्गा व्यक्तिको नाममा जान थालेपछि अहिले सरकारले शक्तिशाली आयोग बनाएर छानबिन थालेको छ । बालुवाटार लगायत क्षेत्रको जग्गा व्यक्तिको नाममा पुगेको खुलेपछि यस्तो छानबिन थालिएको हो ।

नक्कली कागजपत्र खडा गर्ने अनि अदालत र मालपोतमा सेटिङ गरेर महंगा जग्गाहरु व्यक्तिको नाममा लैजाने डरलाग्दो प्रवृत्ति छ । राजधानीको बबरमहलस्थित तीन रोपनी बहुमूल्य जग्गा समेत यतिबेला व्यक्तिले आफ्नो नाउँमा लैजाने प्रयास गरेका छन् ।

नेपाल आयल निगमको नाममा रहेको सो जग्गा रणबहादुर शाहले दाबी गरेका छन् । उनले सो जग्गा आफ्नो भएको भन्दै अदालतमा मुद्दा हालेका छन् ।

सो जग्गालाई सरकारले पञ्चायतकालमै अधिग्रहण गरेको थियो । तर, आफुले मुअब्जा नलिएको भन्दै उनले सो जग्गा आफ्नै भएको दाबी गर्दै आएका छन् । बालुवाटारको ललितानिवासको जग्गाको विवाद पनि यही हो । पटक पटक सूचना जारी गरेपछि मुआब्जा नलिए पनि सो जग्गा सरकारको हुने कानुनी प्रावधान छ ।

सो जग्गा सरकारले आयल निगमलाई दिने निर्णय गरेर लालपूर्जासमेत निगमकै नाममा छ । तर, पनि निगमले प्रयोग गर्न पाएको छैन । शाहले नै जग्गा प्रयोग गर्दै आएका छन् । केही समयअघि जग्गा खाली गराउने प्रयास भए पनि अझै सफल हुनसकेको छैन ।

राजधानीका यस्ता दजनौं जग्गाहरु आफ्नो भनेर दाबी गरी विभिन्न व्यक्तिहरुले अदालतमा मुद्दा हालेका छन् । विगतमा अदालतबाट सेटिङ गराएर धेरै जग्गा व्यक्तिको नाममा गइसकेको छ । अहिले पनि भूमाफियाको केही समूहले करोडौं पैसा उठाएर अदालतलाई प्रभावित पार्न सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस्