काठमाडौं । युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्धको प्रशंसा गरेका छन् । रुसको पछिल्लो कदमविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ ।
मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट गरेका उनले अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने वाचा गरेको पनि फक्स न्यूजलाई बताएका छन् । बिबिसीका अनुसार रसले क्राइमिया गाभ्दा अमेरिकाले लगाएको प्रतिबन्धभन्दा यो निकै धेरै रहेको अमेरिकी राष्ट्रपतिले बताएका छन् ।
अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी ब्याङ्कको व्यापारमा रोक लगाउने घोषणा गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी समकक्षीसँग तय भएको बैठक आफूले रद्द गरेको बताएका छन् । तर, तनाव व्यवस्थापनका लागि आफूहरूले अमेरिकी सेना नै युक्रेनमा परिचालित हुन् भन्ने नचाहेको युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले बताए ।
यस्तै, आफूहरूले युक्रेनलाई रक्षासम्बन्धी सहयोग दिन जारी राख्ने बाइडनले प्रतिबद्धता जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसको पछिल्लो कदमविरुद्ध सशस्त्र बल परिचालन नगर्ने घोषणा गरेका छन् ।
तर, जगेडामा रहेका सुरक्षा बल सदस्यहरूलाई तालिमका लागि भने बोलाउन लागिको उनले जानकारी दिए । रुस र युक्रेनबीच वार्ताको संयोजन गर्ने टर्कीको प्रस्तावलाई राष्ट्रपति जेलेन्स्कीले स्वागत गरेका छन् ।