किभ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको बिखण्डनकारी नियन्त्रणमा रहेको दोनबास क्षेत्रमा ‘सैन्य कारबाही’ घोषणा गरेका छन् । राष्ट्रपति पुटिनले एक रुसी टेलिभिजनमार्फत सम्बोधन गर्दै आक्रमणको घोषणा गरेका हुन् ।
यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषदको आकस्मिक बैठकलाई सम्बोधन गर्दै रुसलाई युक्रेनमा जान लागेका सेना रोक्न पुटिनसँग अनुरोध गरेका थिए ।
‘वास्तवमै युक्रेनमा सैन्य तयारी भइरहेको छ भने, म मेरो हृदयदेखि राष्ट्रपति पुटिनलाई भन्न चाहन्छु आफ्ना सेनाहरूलाई रोक्नुहोस्, शान्तिलाई मौका दिनुहोस् ’, गुटरेसले भनेका थिए ।
यसैबीच रुसको सो घोषणासँगै दोनेत्सकमा बिस्फोटका ठूला आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेको केही समयमा नै सो क्षेत्रमा बिस्फोटका आवाज सुनिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
रुसी राष्ट्रपति पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आआफ्ना घर जान अनुरोध गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुनसक्ने बताएका छन् । वार्ताबाट समस्या समाधान गर्न आफूले गरेको आग्रहलाई राष्ट्रपति पुटिनले बेवास्ता गरेको जेलेन्स्किीले बताएका छन् ।