Logo
Logo

रुसले सुरु गर्यो युक्रेनमाथि आक्रमण


एजेन्सी

1.1k
Shares

किभ । युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसले युक्रेनमाथि ‘पूर्ण स्तर’को आक्रमण सुरु गरेको बताएका छन् । उनले ट्विट गर्दै भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण सुरु गरेको जानकारी गराएका हुन् ।

उनले युक्रेनले आफ्नो रक्षा गर्ने बताउँदै अन्तर्राष्ट्रिय जगतले पुटिनलाई रोक्न सक्ने र रोक्नुपर्ने विषयमा जोड दिएका छन् । रुसले पूर्वी युक्रेनमा आफ्ना सेनाविरुद्ध ‘भीषण गोलाबारी’ गरेको युक्रेनको सैन्य बलले जनाएको छ ।

रुसले युक्रेनको राजधानी किएभनजिकै रहेको एक विमानस्थलसहित देशका अन्य विभिन्न विमानस्थलमा पनि क्षेप्यास्त्र आक्रमण गरेको बताइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । युक्रेनको हवाई बलले रुसी हवाई हमलाको सामना गरिरहेको युक्रेनको सैन्य बलले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्थानीय समय अनुसार ५ः५५ बजे सैन्य कारबाही घोषणा गरेको केही मिनेटपछि युक्रेनमाति हमला शुरू गरिएको बिबिसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचारका अनुसार युक्रेनी राजधानी किएभमा आपत्कालीन साइरन बज्न थालेको छ र मानिसहरूले राजधानी छोडिरहँदा सडकमा कारहरूको ठूलो लाइन देखिएको छ ।

मानिसहरूले सडकमा प्रार्थना गर्दै गरेको र समूह–समूहमा बाँडिएको टेलिभिजन फूटेजहरूमा देखिन्छ । किएभमा रहेका द गार्डिअन पत्रिकाका संवाददाता ल्युक हार्डिङले कतिपय मानिसहरू पैसा झिक्न एटीएमअगाडि लाइन बसिरहेको भन्दै ट्विटरमा पोस्ट गरेका छन् ।

यसैबीच युक्रेनमा रुसले गरेको हमलाबारे अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया आउने क्रम सुरु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी कदमका लागि उसलाई ‘विश्वले उत्तरदायी बनाउने’ बताएका छन् । रुसविरुद्ध अमेरिकाले चाल्ने थप कदमबारे बाइडनले अमेरिकी नागरिकलाई सम्बोधन गर्ने तय भएको छ ।

यस्तै, ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले ‘रक्तपात र विध्वंस’को बाटो रोजेको प्रतिक्रिया दिएका छन् । थप कदमबारे छलफल गर्न उनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव येन्स स्टोलटनबेर्गसँग कुराकानी गरेको बताइएको छ ।

मस्कोमाथि थप प्रतिबन्धहरू लगाउन युरोपेली संघ ईयूका नेताहरू आज साँझ बैठक बस्न लागेका समाचारमा जनाइएको छ ।
उता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले लडाइँ रोक्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्