आन्दोलनको सारतत्व जहिले पनि अन्यायविरुद्धको आक्रोश, यथास्थितिप्रतिको असन्तुष्टि, भविष्यप्रतिको चिन्ता, भय, सत्ताधारीप्रतिको अविश्वासका कारण जनताका पीडाको आन्दोलनमार्फत विष्फोट हुन्छ ।
मानिस जहिले पनि खुसीको खोजीमा हुन्छ । अहिलेभन्दा राम्रो जीवन जीउन चाहन्छ । भोगिरहेका दुःखबाट मुक्ति चाहन्छ । सत्ताधारीले यो कुरा बुझे भने जनताका पीडाको विष्फोट हुँदैन । कुनै उदास संगीतजस्तो भएर त्यो बजिमात्र रहन्छ ।
त्यो संगीतलाई सुनिदिने, बुझिदिने उत्तरदायी सरकार छ भने जनतासँगै ऊ बस्छ र जनताका आक्रोश, चिन्ता आदिलाई आफ्ना कामबाटै दूर गरिदिने प्रयत्न गर्छ । तर, सत्ताधारीहरु जब यो कुरा बुझ्दैनन्, जनताको पीडाको संगीत जब सुन्दै सुन्दैनन्, त्यो असन्तुष्टिको विष्फोट आन्दोलनका रूपमा हुन्छ । आन्दोलनको मूल्य प्रायः महंगै हुन्छ । कुनै–कुनै बेला त देशले धान्नै नसक्ने गरी महंगो पनि हुनसक्छ ।
नेपाली जनताका आकांक्षा र सपना तुहिने सिलसिला जारी छ । जनताका असन्तुष्टि, सत्ताप्रतिको अविश्वास, भविष्यको चिन्ता दशकौँदेखि आन्दोलन, क्रान्ति, विद्रोहका रूपमा विष्फोट भइरहेकै छन् । विजयोल्लासका क्षण पनि जनताले नमनाएका हैनन् । तर हरेक विजय जब ‘माछा माछा भ्यागुतो’मा परिणत हुन्छ, तब जनताका सपना मर्न थाल्छन् । जति धेरै सपना मर्छन्, उज्यालोमाथि अन्धकारको, इमानमाथि बेइमानीको, सत्यमाथि असत्यको जीत हुन थालेको हो कि भन्ने आभास हुन थाल्छ । विश्वासको संकट गहिरिँदै जान्छ ।
अहिले पनि अन्धकार छ । तर त्यो बेलाको अन्धकार र अहिलेको अन्धकारको चरित्र फरक छ । त्यो अन्धकारसँग जुझ्दा सहादत, जेल, नेल, देशनिकाला, आदिका रूपमा जति मूल्य तिर्नुपरेको थियो जनताले, अहिलेको अन्धकारसँग जुझ्दा त्यति मूल्य तिर्नु नपरोस् ।
सधैँ अनावश्यक दुःख भोगिरहेका मानिसको सिर्जनशीलता ह्रास हुँदै जान थाल्छ । अनि त सपनाबाट, योजनाबाट निर्देशित हुनुको सट्टा खपिनसक्नु पीडाले जन्माएको असन्तुष्टिबाट मान्छे निर्देशित हुन थाल्छ । यिनै असन्तुष्टिको विष्फोट भइरहन्छ– हातमा केही लाग्दैन, कुनै उपलब्धि हुँदैन ।
फेरि–फेरि ठूलै विध्वंशक आन्दोलन नै भइरहनुपर्ने नियति देशले जसरी भोगिरहेको छ, त्यो एउटा यस्तो त्रासदी हो जसबाट छुटकारा पाउन नसक्नु भनेको यति सुन्दर धर्तीमा कुरुपता निर्माण गर्नु हो ।
उमेरमा साठी वर्ष नाघेको पुस्ता (र त्योभन्दा अघिका पुस्ता) त्यही बेलाका विशिष्ट परिस्थितिले सिर्जना गरेको आन्दोलनमा होमिएका थिए । त्यो बेलाका केही तगारा हटाउने काम त्यसबेलाका आन्दोलनले गरे । त्यति उपलब्धि पनि सानो मूल्यमा भएको थिएन ।
केही दिनअघि मेरी दिदी पुराना कुरा सम्झँदै भनिरहनुभएको थियो–‘जुम्ल्याहा बच्चाहरुलाई बोकेर भोकभोकै त्योबेला जुलुसमा गएको कुरा कुनै योगदान थियो कि थिएन ? आफ्नो सुरक्षाको ख्याल नराखी, भूमिगत नेतालाई लुकाएर, जोगाएर राख्नु कुनै योगदान थियो कि थिएन ? छाक काटेर कैयन कार्यकर्तालाई पाल्नुको कुनै अर्थ थियो कि थिएन ? देश र जनताका निम्ति केही गरिरहका छौँ भन्ने लाग्थ्यो– के त्यो कुनै बेहोसी थियो ? तिमीहरु हातमा कलम भएका मान्छे– एकचोटी सोधिदेउ न, अहिले हराएका ती नेतालाई ?’ दिदीका कुरा म बुझ्छु– ती प्रश्न उहाँको एउटा सिंगो पुस्ताका प्रश्न हुन् ।
एउटा यस्तो पुस्ता जसले धेरै जीवनको आहुति दिएको छ– न्याय, समानता र स्वतन्त्रताका निम्ति । त्यसपछिको अर्को एउटा पुस्ताले पनि सपनालाई पछ्यायो कि भ्रमलाई पछ्यायो, आस्थालाई पछ्यायो कि अन्धविश्वासलाई पछ्यायो, गुरुलाई पछ्यायो कि छलीहरुलाई पछ्यायो– आफ्नो पंक्तिबाट हजारौँ जीवनको बलिदान दियो । तिनका प्रश्नले त दिदीका प्रश्नले भन्दा अझै बढी पोल्नुपर्ने हो ।
यस्ता प्रश्न सोधिनै पर्छ । यिनले हिजोका बलिदानलाई सस्तो बनाउने हैन बरू अहिलेका तन्नेरी पुस्ता पनि आन्दोलनमा लागिरहनु नपरोस्, उनीहरुका सिर्जनाशीलताले फक्रिन पाओस् भन्ने आशय बोकेका हुन्छन् । आन्दोलनकै आवश्यकता परेछ भने पनि पहिलेको पुस्ताले जस्तो महंगो मूल्य तिर्नु नपरोस्, अबका आन्दोलन पहिलेको भन्दा बढी अर्थपूर्ण र फलदायी बनून् भन्ने कुराको सम्झना गराउने काम गर्छन् ।
भर्खरै प्रजातन्त्र दिवस मनायौँ । २००७ सालमा राणा शासनविरुद्ध भएको आन्दोलनबारे मलाई धेरै थाहा छैन । राणाहरुविरुद्ध कति दिन कसरी लडाइँ भएको थियो त्यो बेला ? पक्कै लामो समयदेखि भित्रभित्रबाट आगो सल्केको हुनुपर्छ । एक दशकअघि नै प्रजातन्त्रका लागि ज्यान दिइसकेका थिए चार सहिदले । त्यसबेलाका कथा सुन्दा कति अन्धकार होला त्यो समाजजस्तो लाग्छ ।
अहिले पनि अन्धकार छ । र अन्धकारमा त कतै न कतै भुसको आगो भित्रभित्र बलि नै रहेको हुन्छ । तर त्यो बेलाको अन्धकार र अहिलेको अन्धकारको चरित्र फरक छ । त्यो अन्धकारसँग जुझ्दा सहादत, जेल, नेल, देशनिकाला, आदिका रूपमा जति मूल्य तिर्नुपरेको थियो जनताले, अहिलेको अन्धकारसँग जुझ्दा त्यति मूल्य तिर्नु नपरोस् ।
अहिलेको अन्धकारसँग जुझ्ने तरिका त्यो बेलाको अन्धकारसँग जुझ्ने तरिकाभन्दा फरक हुनुपर्छ । परिवर्तनको मूल्य कसरी घटाउने भनेर सोच्नु भनेको डराउनु वा भाग्नु होइन– नयाँ पुस्ताप्रति जिम्मेवार हुनु हो, मानवजीवनको सम्मान गर्नु हो, सिर्जनशीलताको ढोका खोल्नु हो ।
आन्दोलनले नै ‘ल सम्हाल’ भनेर सत्ताको लगाम सुम्पिएका नेता भनाउँदाले त झन् यसबारेमा ध्यान नदिनु भनेको युगमाथिको अपराध हो । दुःखको कुरा, एकपछि अर्का सत्ताधारीहरू यो अपराध गरेकागर्यै छन् ।
अहिले पनि सडकहरु हरेक दिनजस्तो तातेका छन् । एउटा विवादास्पद विषयको निम्ति भिडन्त भइरहेको छ । जनता विभाजित भएका छन् । सडकभरि इँटाका टुक्रा देख्दा पक्कै ठूलो आन्दोलन भइरहेको होला भनी अनुमान गर्न सकिन्छ । एकातिर राष्ट्रको अस्तित्वको कुरा सुनिन्छ । अर्कोतिरबाट समृद्धिको कुरा । के ठीक के बेठीक ? यो प्रश्न आफ्नै ठाउँमा छ । तर जुनै नामको सरकार पनि दुरदर्शी भएर हेरिदिँदा नोक्सानी कम हुन्छ ।
परिवर्तनकै लागि आफ्नो जीवनको महत्वपूर्ण समय लगानी गरेको एउटा पुस्ताको सदस्य भएर हेर्दा लाग्छ– अर्काकै भरमा मात्र हामी ‘समृद्ध’ हुनसक्ने स्थितिमा अझै छौँ भने, हामीले त धेरै गर्न सकेकै रहेनछौँ !
सबै कुरा थाँती राखेर केही प्रश्न सोध्न थाले हुने सत्ताधारीले– देशको हित भनेको के ? समृद्धि भनेको के ? स्वतन्त्रता भनेको के ? शान्ति भनेको के ? अन्तर्निर्भरता, परनिर्भरता र आत्मनिर्भरता भनेको के ? एउटा सार्वभौम देशको नागरिक भएर बाँच्नु भनेको के ? ‘पर्ख, हामीलाई सोच्न देऊ । हामीलाई केहीबेर यी प्रश्नमा घोत्लिन देऊ’ भन्दा कसैले निहुँ खोजिरह्यो भने फेरि सोध्नुपर्ने हुन्छ– ‘साथी भनेको के ?’
सबको मंगल होस् । सत्तामा भएकाहरूले जनताको पीडाको गीत सुन्न सकून् । असन्तुष्टिका विष्फोटहरुको सिलसिला बन्द हुन सकोस् ।