काठमाडौं । सरुवा भएको गणमा नजाने सशस्त्र प्रहरीका एसपी समिक कुमर महर्जनमाथि सशस्त्र प्रहरीले छानबिन थालेको छ । कामु एसएसपी प्रबिण कँडेलको नेतृत्वमा छानबिन भएको हो ।
नम्बर ९ बाहिनी पशुपतिनाथ बाहिनी बलम्बुमा कार्यरत महर्जनको गत २५ पुसमा रिजर्भ गण झापामा सरुवा गरिएको थियो । तर, आफ्नो चाहनाअनुसार कमाई हुने गणमा सरुवा नभएको भन्दै उनी त्यहाँ नगएको बताइएको छ । संगठनको चेन अफ कमाण्ड नमानेको भन्दै उनीमाथि छानबिन सुरु भएको छ । दृष्टिन्यूजमा प्रकाशित समाचारका आधारमा उनीविरुद्ध हेलो सरकारमा उजुरी परेको र त्यही आधारमा उनीमाथि छानबिन भएको हो ।
छानबिन समितिसँग एसपी महर्जनले घरायसी तथा परीक्षाका कारण सरुवा भएको गणमा जान नसकेको बताएका छन् । डेढ महिनासम्म पनि त्यसरी घरायसी कारण देखाएकोमा छानबिन समिति सन्तुष्ट हुन सकेको छैन । बाहिनीमा तल्लो तहका प्रहरीमाथि ज्यादती गरेको उजुरी समेत उनीविरुद्ध परेको छ ।
सरुवा भएको गणमा नगई उनी अन्यत्र जानका लागि राजनीतिक लबिइङमा लागेको गृह मन्त्रालय स्रोत बताउँछ।
उता १२ नम्बर गण बाराका एसपी राजेन्द्र थापामाथि पनि सशस्त्र मुख्यालयले छानबिन थालेको छ । तस्करीको लाइन खुलाउको आरोप उनीमाथि छ । जिल्लाको मटिआर्वा, जोतपुर, बसतपुर, तिलकुवा, कचौरवा, गोलागंज, खजानी, पथलवाघाट, सिम्रौंगंढ, क्वोहिगोठी लगायत नाकाबाट तस्करी हुँदै आएको हो ।
एसपी थापाले हवल्दार अशोक साह र सागर झालाई घुमुवाका रुपमा खटाएर तस्करी गर्दै आएका हुन् । गोलागंज नाकाबाट भोला संदीप श्यामसुन्दर, हार्डवेयर व्यवसायी उपेन्द्र लगायतले तस्करी गर्दछन् ।