काठमाडौं । बाग्लुङ नगरपालिकाले बसपार्क निर्माणका नाममा कामै नभएको काममा काम भएको देखाई भ्रष्टाचार गरेको छ । जसमा उपमेयर, वडा अध्यक्ष, इन्जिनियर लगायत ८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
५ लाख ९० हजार पाँच सय नौ रुपैयाँ बिगो दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । उपमेयर सुरेन्द्र खड्का, वडा अध्यक्ष धुव्र केसी लगायतविरुद्ध मुद्दा दायर भएको हो ।
घनश्याम रिजाल (सब–इञ्जिनियर) र मनोज शर्मा (इञ्जिनियर) ले फिल्डमा नभए नगरेको कामहरू लागत अनुमानमा भन्दा केही आईटमहरूमा नापी किताबमा अस्वभाविक रूपमा परिमाण परिवर्तन गरेको, फिल्डमा नभएको तथा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्यांकन गरी चढाई कार्यसम्पन्न प्रतिवेदनसमेत तयार पारेका थिए । प्राबिधिक प्रमुख सि.डि.ई. दयाराम अधिकारीले नापी किताबमा सही गरी गलत प्रतिवदन सिफारिस गरी रु ५,९०,५०९।४८ (रुपैया पाँच लाख नब्बे हजार पाँच सय नौ पैसा अडचालीस मात्र) हानिनोक्सानी पु¥याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) को कसुर गरेको देखिँदा निज दयाराम अधिकारी, घनश्याम रिजाल र मनोज शर्मालाई ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।
दावगरा बसपार्क निर्माण योजनामा बागलुङ्ग नगरपालिका, वडा नं. ४ का वडाध्यक्ष ध्रुव बहादुर केसीले वडाबाट अनुगमन प्रतिवेदन संतोषजनक रुपमा सम्पन्न भएको भनी र नगर उपप्रमुख सुरेन्द्र खड्का (संयोजक) र इन्जिनियर मनोज शर्मा सदस्य सचिव भएको समितिबाट फिल्डमा भएगरेको कामहरू बास्तविक रुपमा भए नभएको एकिन गरी अनुगमन प्रतिवेदन तयार गर्ने तथा सिफारिस गर्ने जिम्मेवारी विपरीत तोकिएको कार्यसम्पन्न भएको भनी विभिन्न कामहरूको परिमाणसमेत उल्लेख गरी प्रतिवेदन दिएको तथा फरफारकको लागि सिफारिससमेत गरेकोले निज ध्रुब बहादुर के.सी., सुरेन्द्र खड्का र मनोज शर्माले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) को कसुर गरेको देखिँदा निजहरुलाई ऐ.ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय माग गरी मुद्दा दायर भएको छ ।
दावगरा बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाष चन्द्र राजभण्डारी, कोषाध्यक्ष भीम कुमारी आचार्य र सचिव गुणनिधि शर्माले फिल्डमा भएगरेको कामहरू वास्तविक रुपमा भएको कार्यभन्दा बढी मुल्यांकन गराई भुक्तानी माग गरेकाले उनीहरुलाई समेत मुद्दा दायर भएको छ ।