काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक ३६औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८६ मा स्थापना भएको बैंकले यो अवधिसम्म आइपुग्दा बैंकले व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टीलाई उच्चतम् स्थानमा राख्दै आफ्नो सेवा विस्तार गरिरहेको छ ।
यो अवधिमा ग्राहक सुविधालाई मध्यनजर गर्दै सातै प्रदेशमा ८८ वटा शाखा कार्यालय, ३१ विस्तारित-राजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत सेवा दिइरहेको छ ।
बैंकले अहिलेसम्म पाँच पटक ‘बैंक अफ दी इयर’ तथा युरो मनी अवार्ड पाएको छ । अहिले बैंकले १२ लाखभन्दा बढी ग्राहकवर्गहरुलाई सेवा दिइरहेको छ ।
बैंकले रक्तदान, वृद्धाश्रम/बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव बनाएको छ ।
त्यस्तै यस अवसरमा बैंकले वित्तीय साक्षरताका लागि चौथो कमिक बुक ‘बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा’को विमोचन कार्यक्रमहरु बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरुले सञ्चालन गरेको छ । यसका साथै ग्राहकवर्गसँगको अटुट सम्बन्ध कायमै रहने अपेक्षा सहित बैंकले ‘निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता’ समेत सञ्चालनमा ल्याएको छ ।