काठमाडौं । रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई ‘आणविक हतियार प्रयोग गर्ने’ चेतावनी दिएका छन् । युक्रेन मामिलामा आफ्नो बाटो अवरोध गरे त्यसको विकल्पमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसको चेतावनीले अमेरिकाप्रति संकेत गरेको देखिन्छ ।
यसैबीच, युक्रेनको राजधानी किभमा भीषण लडाई जारी रहेको विभिन्न अन्तर्राष्ट्रिय मिडियामा खबर आइरहेको छ । रुसको बमबारीबाट किभमा धेरैका घर ध्वस्त भएका छन् । रुसी सेनाले युक्रेनको उत्तरपूर्वी सुमी र कोनोटोप सहरहरू घेरेको छ ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले आफ्नो सेनाले हालसम्म १७ कमाण्ड सेन्टर, १९ वायुरक्षा मिसाइल प्रणाली, ३९ रडार युनिट, ६७ ट्याङ्क र ६ वटा युद्धविमानसहित दुई सय ११ युक्रेनी सैन्य प्रतिष्ठानलाई ध्वस्त पारेको जनाएको छ ।
शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो रक्षामा आक्रमण गर्न आह्वान गर्दै भावनात्मक भिडियो सन्देश जारी गरका थिए । उनले यसका लागि जनतालाई तयार रहन आग्रह पनि गरेका थिए ।
यसैबीच रुसको हमलापछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरे तर उनले कुनै प्रतिक्रिया पाएनन् । यसपछि रुसले एक विज्ञप्ति जारी गर्दै जेलेन्स्कीले फोन गरेको र वार्ताका लागि अनुरोध गरेको बताएको छ ।