Logo
Logo

रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश


693
Shares

काठमाडौं । रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश गरेको स्थानीयले जनाएका छन् । खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले साना सैन्य सवारीहरू सहर छिरेको बिबिसीसँग बताएका छन् ।

यसअघि नै रुसी सैन्य कारहरू खार्किभको सडकमा गुडेका भिडिओहरू सार्वजनिक भएका थिए । सिनेगुबोभले सबै नागरिकलाई घरभित्रै रहन भनेका छन् । ‘आफ्नो वासस्थान नछोठ्नुहोस् । युक्रेनको सशस्त्र सेनाले शत्रुलाई पराजित गर्दै छन् । नागरिकहरूलाई सडकमा ननिस्कन अनुरोध गरिएको छ ।’

यसअघि उत्तर–पूर्वी सहर खार्किभको एक नौ तले भवनमा रुसी रकेट आक्रमण हुँदा एक महिलाको मृत्यु भएको राज्य आपत्काल सेवाले जनाएको थियो । युक्रेनको दोस्रो ठूलो सहर खार्किभलाई रुसले फेब्रुअरी २४ देखि नै निसानामा राखेको थियो ।

यस्तै, राजधानी किभमा भने आइतबार बिहान ७ः३० सम्म रुसले कुनै आक्रमण गरेको छैन । शनिबार राति आक्रमण हुनसक्ने चेतावनी दिइएको भएपनि त्यहाँको अवस्था शान्त रहेको नगर उपप्रमुख माइकोला पोभोरोज्न्याकले बताए ।

युक्रेनको दक्षिणी सहर नोभा काखोभ्का रुसले नियन्त्रणमा लिएको युक्रेनी सञ्चारमाध्यमले बताएका छन् । सानो भए पनि नीपर नदीको किनारमा रहेको यो सहरले क्राइमियानजिकै रहेको छ ।

नोभा काखोभ्काका नगरप्रमुखले रुसी सेनाले सहरको कार्यकारी समितिलाई नियन्त्रण गरेको र सबै भवनबाट युक्रेनको झन्डा झिकेको बताएका छन् । । विज्ञहरूले रुसी आक्रमण अहिलेसम्म युक्रेनको दक्षिणतिर सबैभन्दा सफल रहेको बताएका छन् । (बिबिसी)

प्रतिक्रिया दिनुहोस्