काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच (एनपीएस) को पहिलो चरणको थालनीका क्रममा एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीपीसी)ले विधिवत रुपमा सम्झौता गरेका छन् ।
उक्त सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि एनडीपीसीद्वारा सञ्चालित वालेट नमस्ते पेलाइ एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलोचरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्यू आर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्यू आर तथा नेटवर्क क्यू आर, डाइरेक्ट डेबिट रिक्वेस्ट टु पे तथा इ मेन्डेडका उपकरणहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ ।
त्यस्तै, विभिन्न भुक्तानीका लागि बिल र गेटवे मार्फत् अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरणहरु पनि उपलब्ध भएसँगै कार्यान्वयन गर्ने जनाइएको छ । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन पीएसओ मार्फत् बैंक तथा वित्तीय संस्था र गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसैगरी, दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीका लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंक, राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो । एनडीपीसीमा ग्रामीण क्षेत्रको पहुँचदेखि लिएर वित्तीय तथा बैंकिङ्ग सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन् । देशका कुना काप्चासम्म पनि मोबाईलको माध्यमबाट वित्तीय पहुँच विस्तार गरी डिजिटल सोसाइटी बनाउने राष्ट्रिय अभियानलाई आत्मसात गरी एनडीपीसीले आफ्नो नमस्ते पे वालेटमा क्रेडिट कार्ड बिल भुक्तानी, डिटिएचको भुक्तानी, मोबाइल रिचार्जलगायत विभिन्न भुक्तानीहरु गर्न सकिने सेवा क्रमशः थप गर्दै लैजाने बताइएको छ ।
त्यसैगरी, एनडीपीसी मार्फत् नेशनल पेमेन्ट स्वीचको पहिलोचरण अन्तर्गतका विभिन्न सेवा तथा उपकरणको विस्तारले यसका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने विश्वास गरिएको छ । हाल नेशनल पेमेन्ट स्वीचमा ३८ वटा बैंक तथा वित्तिय संस्था र ६ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ४४ वटा संस्था आबद्ध भइसकेका छन् ।