एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा शान्तिपूर्ण वार्ता सुरु भएको छ । युक्रेन र बेलारुसको सीमा क्षेत्रमा सोमबार उच्चस्तरीय वार्ता सुरु भएको हो ।
वार्ताको मुख्य एजेन्डा युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेना फिर्ता हुनुपर्ने बताइएको छ । युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम चाहेको बताएको छ । त्यस्तै रुसी सेना फिर्ता हुनुपर्ने युक्रेनको चाहना छ ।
शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपतिले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेका थिए । रुसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताए ।
यसैबीच युक्रेनको सेनाले अहिले रुसी आक्रमणको गति सुस्त भएको जनाएको छ । रुसी सेनाले केही दिनदेखि नै युक्रेनमा आक्रमण गरिरहँदा मृत्यु हुने आम नागरिकको संख्या ३५२ पुगेको छ । जसमध्ये १४ जना बालबालिका पनि मारिएको युक्रेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
युक्रेनमा रुसी आक्रमणलाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट चर्को आलोचना हुँदैआएको छ । विशेषगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आलोचित बनेका छन् ।