काठमाडौं । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिबदीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको छ ।
तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी र तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ नबिलले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने र स्थानीयस्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताए ।
कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले बैंकसँगको सहकार्यबाट उद्यमशीलता विकासमा ठूलो टेवा पुग्ने बताउँदै कृषि तथा पशु उद्यमशीलताको मूल्य श्रृंखलालाई अझ मजवुत बनाउँदै हेफरले लक्ष्य गरेका उद्देश्य प्राप्तिका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष एवं तानसेन नगरपालिकाका प्रमुख शाहीले कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पु¥याउन आजको सम्झौतालाई महत्वपूर्ण भूमिका हुने बताउँदै विगतमा सम्झौता हुने तर कार्यान्वयनमा ढिलासुस्ती हुने अवस्थाको अन्त्य गर्दै नविलले पालिकाकाको आर्थिक रुपान्तरणको अभियानमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नबिलका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाकाबाट उपस्थित विभिन्न उद्यमीहरुलाई कर्जा स्वीकृतीपत्र समेत हस्तान्तरण गरेका थिए । सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।