अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भयो । एमसीसीको विषयलाई लिएर सत्तारुढ दल नै विभाजित भएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवालाई जसरी भए पनि एमसीसी पास गर्नुपर्ने दबाब थियो । त्यही दबाबका कारण प्रधानमन्त्री देउवा कहिले कोटेश्वर, कहिले बालकोट त कहिले खुमलटारको चक्कर काटिरहे ।
सुरुमा सत्ता गठबन्धन दलमध्ये माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कमजोरी देखियो । यी दुई दल एमसीसीका विषयमा आफैँ दोधारमा परे । यी दुई दलका नेताहरुले कहिले ‘नो एमसीसी’ त कहिले संशोधनसहित पारित गर्ने भनेर जनता अल्मल्याइरहे । जसका कारण प्रधानमन्त्री देउवा पनि दोधारमा परे ।
देउवालाई जसरी पनि एमसीसी पारित गर्नुपर्ने थियो, त्यसैले उनले अन्तिम विकल्पका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ खोजे ।
एमाले अध्यक्ष ओलीमा राजनीतिक इमान्दारिता भइदिएको भए आफ्नै सरकारको पालामा संसदमा दर्ता गरेको एमसीसीको पक्षमा उनको पार्टीले मतदान गथ्र्यो । तर, उनमा राजनीतिक बेइमानी भएकै कारण उनले एमसीसी पास गर्न ‘अन्टसन्ट’ शर्त राखे । जुन शर्तसँग एमसीसीको कुनै पनि साइनो छैन ।
ओलीले पटक–पटक ‘भत्काउने’ कुरा गरिरहेका छन् । त्यसको पछाडि ठूलो ‘डिजाइन’ छ । ‘रअ’ प्रमुख सामन्तकुमार गोयलको ‘रोडम्याप’ पछ्याएका ओलीकै हातबाट नेकपाको दुईतिहाइको सरकार भत्कियो । त्यसयता जे भत्कियो सबै एमालेको भत्कियो ।
बरु, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल केही लचकता देखाउँदै ओलीले संसद्मा दर्ता गराएको एमसीसीमा रहेका राष्ट्रघाती बुँदा सच्याएर भए पनि एमसीसी पास गर्ने निष्कर्षमा पुगे ।
यो निष्कर्षमा पुग्नुको पछाडि प्रचण्ड र माधवको केही बाध्यता थियो । किनभने, एमसीसी त जसरी पनि देउवाले पास गर्थे, तर त्यो अवस्थामा गठबन्धनको भविष्य के हुन्छ भन्ने चिन्ता प्रचण्ड र माधवलाई थियो । यो गठबन्धन बन्नुको पछाडि एमसीसीको केही भूमिका थिएन । भूमिका थियो त ओलीको । त्यसैले उनले संसद्बाट पारित गराउनै नपर्ने मुद्दालाई संसद्मा पुर्याएर अन्तिममा आफ्नो द्वैध चरित्र प्रस्तुत गरे ।
यदि, ओलीले अहिले आएर द्वैध चरित्र देखाउनु नै थियो भने, त्यतिबेला आफूसँग भएको दुईतिहाइ मतबाट एमसीसी किन पास गरेनन् त ? यस प्रश्नभित्र रहस्यमय उत्तर लुकेको छ । जुन उत्तर समयक्रममा पर्दाफास हुने नै छ ।
जहाँसम्म प्रचण्ड–माधवको गठबन्धन जोगाउने चिन्ता हो, त्यो देशको राजनीतिक भविष्यका लागि स्वभाविक हो । नदी किनारमा माछा कुरेर बसेको बकुल्ला जस्तै बालकोटको बार्दलीमा ओली सत्ता कुरेर बसेका थिए । पुस ५ गते ओलीले भत्काएको प्रतिनिधिसभा फेरि यही मौकामा भत्काउने उनको योजना थियो । ओलीले सार्वजनिक गरेका माग त देखाउने दाँत मात्र हो, यदि देउवाले ओलीको कुरा पत्याएर हिँडेको भए न एमसीसी पास हुन्थ्यो, न त देउवा सरकार नै रहन्थ्यो ।
ओलीले पटक–पटक ‘भत्काउने’ कुरा गरिरहेका छन् । त्यसको पछाडि ठूलो ‘डिजाइन’ छ । ‘रअ’ प्रमुख सामन्तकुमार गोयलको ‘रोडम्याप’ पछ्याएका ओलीकै हातबाट नेकपाको दुईतिहाइको सरकार भत्कियो ।
दुईतिहाइको सरकार मात्र भत्किएन, नेकपा नै भत्कियो । त्यतिले मात्र ओलीको चाहना पूरा भएन र माधवकुमार नेपालले विद्रोह गरेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आयो र, एमाले पनि भत्कियो । जसका कारण एमाले प्रदेश सरकारबाट भत्किएर नेतृत्वविहीन हुनुपर्यो । राष्ट्रियसभाबाट लात खानुपर्यो ।
अझै एमालेका नेताहरुको चेत खुलेको छैन । जसको मुखबाट पनि ‘भत्काउने’ शब्द प्रयोग भइरहेको छ । अब भत्काउने भनेको आफ्नै पार्टी हो । ओली आफैँ भन्छन्– बिरालोलाई रिस उठ्यो भने खाँबो चिथोर्छ रे । अब एमालेले खाँबो चिथोर्न मात्र बाँकी छ । बाँकी सबै त ध्वस्त बनाइसक्यो ।