Logo
Logo

युक्रेनबाट ३०२ नेपाली सरे सुरक्षित स्थानमा


1.2k
Shares

एजेन्सी । युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किभबाट सबै नेपाली सुरक्षित स्थानतर्फ सरेका छन् ।

रुस–युक्रेन द्वन्द्व प्रभावित क्षेत्र किभबाट ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यतर्फ सरेका हुन् । हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थान खोज्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया, माल्दावालगायत देशमा पुगिसकेका जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले बताए ।

मंगलबारसम्म युक्रेन छाडेर २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ जना माल्दावा पुगेका गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले जनाएको छ ।

यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीलाई सुरक्षित ठाउँमा पुर्याउन आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रुसमा रहेका नेपालीको समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीसँग सम्पर्क भइरहेको जानकारी दिए ।

रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी किभमा रहेका सबै नेपाली युक्रेनबाट बाहिरिएका जानकारी दिए । उनका अनुसार पछिल्लोसमय रुसमा रहेका नेपाली विद्यार्थी चिन्तित भएर दूतावासको सम्पर्कमा आउन थालेका छन् । पश्चिमी मुलुकले रुससँगको हवाई उडानमा प्रतिबन्ध लगाएका कारण रुसमा बस्ने नेपाली समेत त्रसित छन् ।

स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारोमा परेका नेपालीलाई खाना र बस्नको व्यवस्था गरेको जानकारी दिए ।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरुलाई खाने, बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जानकारी दिए । उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरिरहेका बताए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्ध पीडितको उद्धारका लागि सोमबारदेखि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्