काठमाडौं । नेपाल राष्ट्रिय पुस्तकालयले जमलमा बनाउन लागेको पुस्तकालय भवन निर्माणको टेण्डरमा सार्वजनिक खरिद ऐन नियमको ठाडो उल्लंघन गर्दै प्रतिस्पर्धालाई नै सीमित गरी ठेक्का दिन लागिएको छ । २०७८ माघ १० गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गरेको पुस्तकालय भवनको टेन्डरमा प्रतिष्ठा निर्माण सेवालाई दिनेगरी सेटिङ गरिएको प्रष्टसँग देखिएको छ ।
पुस्तकालयका अधिकारीका अनुसार प्रतिस्पर्धालाई सीमित गरी राज्यलाई २० करोड रुपैयाँ भन्दा बढी हानीनोक्सानी पुरयाउने काम गरिएको छ । त्यसको ज्वलन्त उदाहरण आज(फागुन १८)मा एउटा मात्रै कम्पनी प्रतिष्ठा निर्माण सेवालाई प्राविधिक मूल्यांकनमा पास गराएपछि पुष्टि भएको छ । प्रतिष्ठालाई नै ठेक्का दिनेगरी उसको सेटिङमा टेण्डर सूचनामा सर्त र योग्यता राखिएको थियो भन्ने कुरा प्राविधिक प्रस्ताव उसको मात्रै दाखिला भएबाट पुष्टि भएको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेल र सचिव यादवप्रसाद कोइरालाको सेटिङमा पूर्वयोजना अनुरुप नै धु्रव रिजालको प्रतिष्ठा निर्माण सेवालाई ठेक्का दिनेगरी प्राविधिक मूल्यांकनमा उसको मात्रै प्रस्ताव परेपछि छर्लङ्ग भएको छ । शिक्षा मन्त्री पौडेल र सचिव कोइरालाकै सेटिङमा ५० करोडमा निर्माण हुने पुस्तकालयको ठेक्का ७० करोडमा फूल रेटमा प्रतिष्ठा निर्माणले प्रस्ताव हालेको छ । जसका कारण राज्यलाई २० करोड नोक्सान हुन पुगेको छ ।
शिक्षा मन्त्रालयले प्रकाशित गरेको टेन्डर सूचनामा प्रतिष्ठा निर्माण सेवाका रिजालकै सेटिङमा १० वर्षभित्र कम्तीमा ५७ करोड ७४ लाख ९८ हजार रुपैयाँ बराबरको एउटा डबल बेसमेन्ट भवन निर्माण गरेको कम्पनी मात्रै ठेक्कामा सहभागी हुन पाउनेगरी स्पेफिकेसन राखिएको थियो । २०७२ को भूकम्पमा राष्ट्रिय पुस्तकालयको पुल्चोकस्थित भवन भत्किएपछि टहरा बनाउनका लागि प्रतिष्ठा निर्माण सेवालाई दिइएको थियो, ती टहरा सबै पानी चुहिनेखालका बनाएको भए पनि स्पेकमा त्यो टहरा (ट्रष्ट) बनाएको हुनुपर्ने बुँदा पनि राखिएको छ । जुन बुँदा प्रतिष्ठा निर्माण सेवालाई नै दिनेगरी राखिएको आशंका गरिएको थियो, जुन कुरा प्राबिधिक मूल्यांकनमा उसको एकल प्रस्ताव परेपछि पुष्टि भएको छ ।
प्रतिष्ठा निर्माण सेवाको सेटिङमा १० बर्षभित्र कम्तीमा प्रतिबेसमेन्ट १३८५ स्क्वायर मिटर भएको डबल बेसमेन्ट तयार गरेको, ५ सय मिटर क्षमताको सभाहल निर्माण कार्य गरेको, अन्तर्राष्ट्रिय अभ्यासको पुस्तकालय भवन निर्माण गरेको, मन्दिर तथा पुरातत्व निर्माण तथा पुननिर्माण जस्ता काम गरिसकेको निर्माण कम्पनी मात्र सहभागी हुन पाउने प्राविधिक मापदण्डहरु राखेर मन्त्रालयका सचिव कोइरालाले प्रतिस्पर्धालाई खुम्च्याएको निर्माण ब्यवसायी महासंघका पदाधिकारीको गुनासो छ ।
नेपालमा डबल बेसमेन्ट भवन निर्माणको अनुभव हासिल गरेका कम्पनीको संख्या सीमित छ, त्यसमाथि भवनको बेसमेन्ट निर्माणभित्र पनि साना–साना क्राइटेरिया तोकेर प्रतिस्पर्धा खुम्च्याइएको छ । टेन्डरको सूचनाअनुसार एउटै भवनमा प्रतिबेसमेन्ट १३८५ वर्गमिटरमा ६०० एमएम मोटाइको १४ मिटर गहिरो पाइलिङ गरेको कम्पनी मात्रै यो ठेक्काको प्राविधिक मूल्यांकनमा पास हुनसक्छ । त्यतिमात्रै नभएर डबल बेसमेन्टमा एम ३० र त्यसभन्दा माथिको क्रंक्रिटिङको विशेष अनुभव ४ हजार घनमिटर मागिएको छ । यसले एउटै भवनमा डबल बेसमेन्टमा मात्रै काम गरेको अनुभवले नहुने र क्रंक्रिटिङका ठूलो काम गरेको अनुभव पनि चाहिने छ ।
पुस्तकालयका अधिकारीका अनुसार प्रतिस्पर्धालाई सीमित गराउन र एउटा मात्रै कम्पनीलाई प्राविधिक मूल्यांकनमा पास गराउने पूर्वयोजना अनुरुप नै ठेक्का प्रकाशित गरिएको थियो । पुस्तकालय भवन बनाउनका लागि प्रतिष्ठा निर्माण सेवाका संचालक धु्रव रिजालसँग शिक्षा मन्त्रालयका सचिव यादव कोइरालाको सेटिङ भएकाले उसैले ठेक्का पाउनेगरी मापदण्ड राखिएको स्पष्ट भएको छ ।
प्रतिष्ठा निर्माण सेवा निर्माण ब्यवसायीको क्षेत्रमा जगतमा सेटिङमा ठेक्का लिने र २५ देखि ३० प्रतिशतमा अर्कैलाई बिक्री गर्ने भनी बदनाम छ । प्रायः क वर्गका निर्माण ब्यवसायीसँग स्काभेटरदेखि सबै उपकरण हुन्छन् । तर क वर्गको निर्माण कम्पनी प्रतिष्ठासँग एउटा सिमेन्ट र गिटी मिसाउने मिक्स्चर समेत नभएको निर्माण ब्यवसायी महासंघका एक सदस्यले बताए । उनले भने–सेटिङमा ठेक्का लिने र बेच्ने प्रतिष्ठाका रिजालको धन्दा हुँदैआएको छ ।
संचालक धु्रव रिजालले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणाको नाम लिने बिचौलिया रामचन्द्र भट्ट र सचिव कोइरालासँग सेटिङ गरी राष्ट्रिय पुस्तकालयको ठेक्का सेटिङमा लिन लागेको आरोप छ । रामचन्द्र भट्ट बालुवाटारका ठूला बिचौलियाका रुपमा चिनिन्छन् । उनले सरुवा बढुवा, नियुक्तिदेखि ठेक्कापट्टामा समेत बालुवाटार सेटिङ गर्छु भन्दै ऐन कानुन बिपरीतका काम गराउँदैआएका छन् । सचिव कोइरालालाई पनि तिनै भट्टले नै पुस्तकालयको ठेक्का प्रतिष्ठा निर्माण सेवालाई नै दिनका लागि सेटिङ गराएको तथ्य खुलासा भएको छ । भट्ट प्रधानमन्त्री देउवाको अति विश्वासिलो भएकाले राजदूत नियुक्तिदेखि सचिव, महानिर्देशकसम्म बनाउने बिचौलिया हुन् । उनको शंखमूलस्थित बंगलामा नेपालका सहसचिव, सचिवसम्मको आवतवाजत हुने गरेको छ । रामचन्द्र भट्टका सामु दीपक भट्टसमेत पछाडि परेका छन् । दीपक भट्टले पनि अहिले रामचन्द्र मार्फत् नै बाल्ुवाटारबाट काम लिन थालेका छन् ।
रिजाल कस्ता ठेकेदार हुन् भन्ने कुरा बिशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज) ले बाराको सिमरामा संरचना निर्माणको ठेक्कामा भएको गुणस्तरहीन निर्माणलाई लिन सकिन्छ । सेजले प्रतिष्ठा निर्माण सेवालाई सेटिङमा सिमराको सरचना निर्माणको ठेक्का दिएको थियो । तर प्रतिष्ठाले अर्कै कम्पनीलाई उक्त ठेक्का बेच्यो, प्रतिष्ठाले लिएको ठेक्का अर्कैले किनेर संरचना बनाउँदा गुणस्तरहीन भएकाले पाँचवटा पिलर नै भाँचिएका छन् । र, सेजका सीईओ चण्डिकाप्रसाद भट्ट पिलर भाँचिएपछि प्रतिष्ठालाई ठेक्का दिएका कारण अख्तियारको फन्दामा परिने चिन्तामा परेका छन् । उनले प्रतिष्ठाका ुसंचालक रिजाललाई गुणस्तरहीन संरचना निर्माण भएर पिलर भाँचिएपछि कालोसूचीमा राख्ने चेतावनी दिई गुपचुप रुपमा अर्को पिलर बनाउने काम भइरहेको छ ।
सेज एक उदाहरण हो, प्रतिष्ठाले ठेक्का लिएका हरेक संरचना गुणस्तरहीन निर्माण भएका छन् । बिचौलियामार्फत् शक्तिकेन्द्रमा पहुँच पुर्याई ठेक्का लिने र २० देखि ३० प्रतिशत लिएर अर्कैलाई बिक्री गर्ने प्रतिष्ठा निर्माण सेवाले राष्ट्रिय पुस्तकालयको ठेक्का लिएमा त्यो भवन पनि गुणस्तरहीन निर्माण हुने र अख्तियारको कठघरामा आफू पर्ने चिन्तामा पुस्तकालयका कार्यालय प्रमुख दशरथ मिश्र छन् । तर मिश्र मन्त्री पौडेल र सचिव कोइरालाका अगाडि निरीह छन् ।