Logo
Logo

ट्रान्सफर्मर मर्मत नहुँदा सबस्टेशन बन्द


504
Shares

म्याग्दी । बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ ।

विद्युतको भार थेग्न नसकेपछि सो सबस्टेशनमा जडान भएको एकमात्र तीन एमबिए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो । यहाँबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा केन्द्रीय लाइनको विद्युत वितरण हुँदै आएको थियो । दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना बन्द भएपछि १३.६ मेगावाट क्षमताको थापाखोला र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ३३/११ केभीमा सिङ्क्रोलाइज (आन्तरिकीकरण) गरी घरापबाट राष्ट्रिय प्रसारणमा जोडिएको थियो । थापाखोलाको विद्युतलाई चोखोपानी सबस्टेशनमा चार्ज गरिएको छ । घलेम्दीको बिजुलीलाई दानास्थित सबस्टेशनमा लगिएको छ ।

तातोपानी साना जलविद्युत र सबस्टेशनका प्रमुख शिवप्रसाद नेपालले वैकल्पिक सबस्टेशनबाट विद्युत वितरण गर्नुपरेको बताए । “लामो समयको प्रयासपछि ६.८ एमबिए क्षमताको ट्रान्सफर्मर ल्याए पनि क्रेन नहुँदा त्यसलाई उचालेर चौकामा राखी जडान गर्न सकेका छैनौँ”, उनले भने, “दानाको २२०/१३२ केभिए सबस्टेशनको ३३/११ केभिए सबलाइनबाट पर्वतको मिलनचोक सबस्टेशनबाट विद्युत वितरण गरिएको छ ।” पुराना र जीर्ण ३३/११ केभिए ट्रान्सफर्मर र प्रसारण लाइनमा बढी क्षमताको विद्युत पठाइएकाले भार थेग्न नसकी ट्रिप (सबस्टेशनमा विद्युत काटिने) समस्या थियो । सबस्टेशन बन्द भएपछि लामो दूरीमा वितरण गर्दा विद्युत आपूर्ति अनियमित हुन थालेको अन्नपूर्ण–३ दानाका गंगा पुनले बताए । दुईवटा जलविद्युत आयोजना र बेनी–जोमसोम–कोरला सडक आयोजनाका अस्थायी क्रसरमा विद्युत आपूर्तिमा समस्या आएको छ ।

घरापमा विसं २०४६ मा नेपाल विद्युत् प्राधिकरणले धवलागिरि क्षेत्रमै पहिलोपटक तातोपानी साना जलविद्युत आयोजना निर्माण गरेर म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङका बस्तीमा उज्यालो पुर्याएको थियो । गत वर्षदेखि सञ्चालनमा आएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत आयोजनाले तातोपानी सानाको मुहानभन्दा माथि बाँध बानेर पानी लगेको छ । खोला सुकेपछि हिउँदमा तातोपानी साना जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तातोपानी साना जलविद्युत् आयोजनाको ऐतिहासिक विरासत अन्त्य भएको छ । आयोजनाको विद्युत गृहका टर्वाइन, जेनेरेटरलगायतका उपकरण मर्मत हुन नसक्दा १५ वर्षदेखि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकेको थिएन । पाँच सय किलोवाट मात्र विद्युत उत्पादन हुने गरेको थियो । चारवटा टर्वाइन सामान्य मर्मत गरेपछि सञ्चालन गर्न सकिने अवस्थाका छन् ।

प्रतिक्रिया दिनुहोस्