चितवन । सडकमा ट्राफिक नियम पालनामा खटिएका नेपाल प्रहरीका एक कर्मचारीले चालकको अराजकताका कारण ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय चितवनमा कार्यरत सइ अर्जुन पौडेलको ट्याक्टरको ठक्करबाट निधन भएको हो ।
चितवनको भरतपुर महानगरपालिका–६ स्थित जयनेपाल चोकमा ट्याक्टरको ठक्करबाट सई पौडेलको बिहिबार राति मृत्यु भएको हो । बिहिबार राति ९ बजेतिर महेन्द्र चोकबाट चोक बजारतर्फ जाँदै गरेको ना४त ८८२९ नम्बरको ट्याक्टरले ना १६ प ३१५ नम्बरको मोटरसाइकलमा सवार पौडेललाई ठक्कर दिएको थियो । पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले थुनामा राखेको छ ।