संसारैभरि घटनाहरु घट्यो कि त्यसबाट नेपालीहरुले सिक्नुपर्ने पाठ भनेर लम्बेतान लेख र झर्को लाग्दा विचारहरु सुनिरहनु आम नेपाली दर्शक, पाठकहरुको बाध्यता हो । एउटा सत्य के हो भने, आफूलाई नपरेसम्म नेपालीले चेत्दैनन् । समस्याको चाङले च्यापिएर श्वास फेर्न सकस भएपछि मात्र चेत्ने बानी छ हाम्रो ।
नेपालमा एमसीसीले सडक तातेको बेला युक्रेनमा रूसले आक्रमण गर्यो । एमसीसी नेपालका राजनितिक दलहरुले गिजोलेर सडकभरि छरेका थिए । घर–घरमा अमेरिकी सेना आउने हल्ला थियो । मान्छेहरु समर्थन र विरोधमा बाँडिएका थिए ।
अमेरिकाले दबाब बढाउँदै लगेपछि चीनले समेत मुख खोलनुपर्याे । त्यसपछि एमसीसी झन् तात्न पुग्यो । युक्रेनमा रूसले हमला गरिरहेको छ, साथै छिमेकी देश बेलारूसमा वार्ताको निम्ति बोलाएको पनि छ, झ्याप्पै नेपालको संसद्ले एमसीसी पास पनि गरिहालेको छ । आशा गरौं, रूसले पनि युक्रेनमाथिको हमला बन्द गर्नेछ । लडाइँ लम्बिने छैन ।
युद्ध हो यसै भन्न सकिन्न । भन्छन् नि युद्ध सजिलै सुरू हुन्छ तर यसको अन्त्य कष्टकर हुन्छ । कैयौँ निर्दोष मानिसको ज्यान जान्छ । कतिका घरबार उजाड हुन्छन् । पुस्तौँ पुस्तासम्म निको नहुने घाउ छोडेर जान्छ युद्धले ।
युक्रेन युद्धलाई प्रष्टसँग बुझियो भने दुई ढुंगा बीचमा बसेका नेपालीहरुको सुरक्षाको निम्ति पनि राम्रै हुनेछ । युक्रेन पूर्व सोभियत संघको विभाजनपछि बनेको स्वतन्त्र राष्ट्र हो । एक सार्वभौम राष्ट्रको रुपमा रहेको युक्रेनभित्र रसियन भाषा बोल्नेहरुको बाहुल्यता छ ।
रूससँग व्यापार, संस्कृति र रोजगारीको राम्रो सम्बन्ध छ । युरोपेली संघमा आवद्ध हुन अस्वीकार गर्ने रूसी समर्थक राष्ट्रपति भिक्टोर यानुकोभीचलाई विद्रोहबाट जबर्जस्ती सत्ताच्युत गरेपछि रूस र युक्रेनको बीचमा तनाब बढिरहेको थियो । तनाब बढेकै बेला रूसले सुन्दर युक्रेनी टापु क्राइमियाँलाई आफ्नो कब्जामा लियो ।
रूसी भाषीहरुको बाक्लो बसोबास रहेको लुहास्क र डोनेस्कमा तनाव चलिरहेको थियो । सो भेगमा बस्ने युक्रेनीहरुलाई रूसले आफ्नो देशको नागरिकता पनि धमाधम बाँड्यो । युरोपेली संघमा आवद्ध हुन र एटलान्टिक सन्धि संगठन नेटोमा सदस्य हुन प्रयास गरिरहेको युक्रेनको यो गतिविधि रुसलाई मन परिरहेको थिएन ।
पुटिनले हरेक पटकको छलफलमा युरोपको विकास र क्षेत्रीय शान्ति खलबल हुन नदिन युक्रेनमा भइरहेको पश्चिमी प्रयास रोकिनुपर्दछ भन्दै आएका थिए । विश्व शक्ति राष्ट्रको रुपमा दबदबा रहेको रुसी गणराज्यका लागि सिमानामै आएर नेटोका सैनिकहरुको परेड खेलेको कुरा पक्कै पनि खतराको सूचक बनेको हुनुपर्दछ ।
रह्यो, एउटा सार्वभौम देशले कुन संस्थाको सदस्य हुन आवेदन गर्ने, कुन सैन्य संस्थासँग साझेदारी गर्ने भन्ने कुरा त्यहाँको जनताद्वारा निर्वाचित सरकारले तय गर्ने कुरा हो ।
ठूला छिमेकीसँग सधैँ झुकेर बस्नुभन्दा युरोपेली शक्तिसँग मिलेर बलियो हुन्छु भन्ने युक्रेनी सरकारको प्रयासलाई पुटिनले सैन्य बलबाट निस्तेज पार्ने प्रयास गरेका छन् ।
राजधानी कीभलाई घेरेर उनले दोस्रो युक्रेनी शहर खार्कीभलाई कब्जामा लिने प्रयास गरेका छन । केही कब्जा गरिसकेको छ । यो समयमा आएर पनि दोस्रो विश्वयुद्ध झल्काउने गलत काम भन्दै युरोपेली युनियन, अमेरिका, बेलायतलगायत पश्चिमी शक्तिहरुले रुसमा कडा नाकाबन्दी लगाएका छन् । यस मुद्दामा विश्व शक्ति ध्रुबीकृत भइसकेको छ ।
सरसर्ती हेर्दा एउटा सार्वभौम मुलुकमाथि बलियो छिमेकीले जुनसुकै बहानामा युद्ध गरे पनि त्यो गलत नै हो । आफूभन्दा निकै ठूलो शक्तिसँग पनि अन्तिम दमसँग लड्छु भन्ने राष्ट्रपति भोलोद्दिमिर जेलेन्स्कीको देशभक्ति सलामयोग्य छ । अमेरिकाले शरण दिन्छुभन्दा पनि उनले अस्वीकार गरेर जनताहरुलाई हतियार बाँडेर बसे । आफ्ना जनतालाई लड्न सबैलाई प्रेरित गरेर देश बचाउन आह्वान गरिरहेका छन् ।
तर यहीनेर, अर्को प्रश्न के पनि उब्जिन्छ भने, छिमेकीसँगको सम्बन्ध बिगारेर असन्तुलित अवस्थामा रहनु एक सार्वभौम तर सैन्यरूपमा कमजोर मुलुकको लागि खतरा हुनेरहेछ । त्यसैले परराष्ट्रनीति अपनाउँदा एकदमै ख्याल राख्नुपर्ने रहेछ । रुसलाई अहिले पनि पश्चिमाहरुले कम्युनिष्ट दृष्टिकोणबाट नै हेर्दछन् । सकेसम्म रुसलाई बिभिन्न बहानामा एक्ल्याउने, अमेरिकी नेतृत्वमा लोकतन्त्रको नाममा बहिष्कृत गरिरहनु पनि कूटनीतिक विफलता हो ।
रासायनिक हतियारको नाममा इराक प्रवेश गरेर लाखौंको ज्यान लिने, अफगानिस्तानलाई ध्वस्त बनाएर लाखौंको प्राण उडाउने अमेरिकीहरु लोकतन्त्रका नाममा कतिको देश र जीवन बर्बाद गरिरहेका छन् । उनीहरु जहाँ पनि पसेर युद्धको निम्ति वातावरण तैयार गर्ने, लडाउने र हतियार बेच्ने नै उनीहरुको धन्दा हुन्छ ।
अहिलेसम्म दुनियाँमा भएका लडाइँहरुको बहुसंख्यक अगुवाइ अमेरिकाले गरेको छ । अहिले युक्रेनलाई उचालेर युद्धमा होमेर दीर्घकालसम्म रूस युक्रेनको सम्बन्ध युद्धमा परिणत होस् भन्ने चाहन्छ अमेरिका । जर्मन जाँदै गरेको ग्यास पाइपलाइन भत्काउने त उसको मुख्य मकसद नै हो ।
यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि कम छैनन् । जो जे भए पनि युद्ध हुनु र सर्वसाधारण मानिसहरु मारिनु कुनै पनि हालतमा ठीक कुरा हुँदै होइन । युक्रेन र रूसको बीचमा वार्ता भएर समाधान निस्कनु नै श्रेयस्कर हुनेछ । रूसले हमला गरिसकेको अवस्थामा स्थिति त्यति सजिलै सामान्य हुने देखिँदैन ।
स–साना कुरामा दिल्ली पुगिहाल्ने, चिनियाँहरुसँग पनि साखुल्ले बनिरहनु पर्ने, अमेरिकीहरुसँग पनि एमसीसीमा सहमत हुनु, पछि फेरि किचलो निकालेर विरोधमा उत्रनु नेपाली राजनीतिका लागि कालान्तरमा डरलाग्दा र कच्चा कामहरू हुन् ।
भारत र चीन असाध्यै ठूला तर व्यवस्थाको हिसाबले निकै फरक मुलुकको बीचमा बसेर आफ्नो देशका नागरिकलाई कसरी धनी बनाउने भनेर सोच्नु, देशमा कलकारखाना खोल्ने कुरा गर्नु कताकता भएका युवाहरुलाई विदेश धपाउने, नेता मण्डलीले मिलीजुली खाइरहने मुलुकको रूपमा देश बिगार्दा के देशको भविष्य सुरक्षित रहला ?
देशमाथि साँच्चै संकट पर्यो भने अहिले राष्ट्रभक्ति र देशभक्तिका कुरा गर्ने नेता, तिनका सेनामेना कतिजना हतियार बोकेर सडकमा निस्केलान् ? एक अर्कासँग स्वार्थका कारण टाढिने, स्वार्थको कारण मिल्ने, छुद्र वचन, पटक्कै दूरदृष्टि नभएका नेताले भविष्यमा युद्ध मैदानको रुपमा विकास नगरुन् नेपाललाई । यत्ति कामना मात्र त गर्न सकियो ।
जो नेता हेर्यो सब जुवाडेजस्तो देखिन थालेको छ । नेताहरुप्रति यसरी जनताको विश्वास हराउँदै जानु देशको निम्ति राम्रो लक्षण होइन ।
– मदनपोखरा, पाल्पा