Logo
Logo

युक्रेनले भन्यो- ‘रुसले युद्धविराम पालना गरेन’


1.4k
Shares

फाइल फोटो

एजेन्सी । रुसले युक्रेनका दुईवटा सहरमा अस्थायी युद्धविराम घोषणा गरेपनि त्यो पालना नगरेको युक्रेनले बताएको छ ।

मानवीय सहायताका लागि भन्दै रुसले मरिपोल र भोल्नोभाखाकामा अस्थायी युद्धविराम घोषणा गरेको थियो । तर, युद्धविराम पालना नगर्दा सर्वसाधारणले सहर छोड्न नपाएको युक्रेनको आरोप छ । युक्रेनका दुई सहरबाट नागरिकलाई सुरक्षित बाहिरिन दिन सहमति गरिएको युद्धविराम रुसले पालना नगरेको किएभको आरोप छ । यता, रुसी रक्षा मन्त्रालयले भने युक्रेनी सेनाले नागरिकलाई सहर छोड्न नदिएको दाबी गर्दै आएको छ ।

ती सहरबाट सर्वसाधरणलाई निस्कने सहज वातावरण बनाउन युक्रेनी अधिकारीहरूसँग सहमति भएको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै रुसी सञ्चारमाध्ययमहरुले जनाएका थिए । दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो । झण्डै चार लाख ५० हजार जनसंख्या रहेको मरिपोलमा युक्रेनको मुख्य व्यापार बन्दरगाह रहेको छ । यो सहर रुस–क्राइमिया सडक मार्गमा पर्छ । त्यहाँ रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखी नै ठूला मुठभेड भइरहेको छ, रुसले उक्त सहर कब्जामा लिएको छ । भोल्नोभाखा भने कमै परिचित सानो सहर हो । रुसी रक्षा मन्त्रालयले भने विज्ञप्ति निकालेर युक्रेनका सर्वसाधरणलाई खतरा हुने खालका गतिविधि नगरेको दाबी गर्दै सैन्य संरचनामा मात्रै आक्रमण गरिएको जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको ११ दिन भएको छ । रुसी आक्रमण सुरु भएपछि १० लाख भन्दा धेरै मानिस युक्रेनबाट पलायन भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । रुसी आक्रमणबाट खेअर्सन सहरका धेरैजसो संरचनाहरु ध्वस्त भएका बीबीसीले उल्लेख गरेको छ । राजधानी किभ र दोस्रो ठूलो सहर खार्किभमा पनि ठूला-ठूला लडाइँ भएका छन् । मरिपोलको दक्षिणी बन्दरगाह रुसी सेनाको कब्जामा छ भने ओडेसामा पनि आक्रमण भएको छ । युरोपको सबैभन्दा ठूलो पारमाणविक ऊर्जा केन्द्र रुसले कब्जामा लिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा नो–फ्लाई जोन लागू गर्न प्रस्ताव गरेपनि अस्वीकार गरेपछि उनले पश्चिमा देशहरुको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्