काठमाडौं । दृढ अठोट र मेहेनत गर्ने व्यक्तिलाई केही कुराले पनि सपनासम्म पुग्न रोक्दैन भन्ने कुराको उदारण हुन् एनसीसी बैंककी डेपुटी प्रमुख कार्यकारी अधिकृत बन्दना पाठक ।
एसएलसी दिएलगत्तै १५ वर्षको उमेरमा बिहे गरेकी उनले त्यसपछि माष्टर डिग्री अध्ययन पूरा गरेर २९ वर्षको उमेरमा करिअर सुरु गरेकी थिइन् । उनै बन्दना आज देशको वाणिज्य बैंकको दोस्रो उच्च पदमा पुगेकी छिन् ।
उनको ‘करिअर’ नेपाल बंगलादेश बैंकबाट सुरु भएको थियो । सन् १९९४ मा बैंक स्थापना हुँदा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेकी हुन् । लिखित परीक्षा र अन्तवार्तामा सफल भएपछि उनलाई जुनियर एसिसटेन्टको नियुक्ति दिइयो । तर, उनले त्यसमा असन्तुष्टि जनाइन् ।
‘माष्टर डिग्री गरेको व्यक्तिलाई जुनियर असिसटेन्ट पद त भएन भनेपछि मलाई असिसटेन्स पदमा नियुक्ति दिइयो’, उनी भन्छिन्, ‘नियुक्त हुँदा बैंकिङ क्षेत्रको खासै धेरै ज्ञान थिएन ।’ तर, उनमा यति धेरै मेहेनत थियो कि ११ महिनामै उनी बढुवा भइन् ।
बैंकमा जागिर सुरु गरेकोे दुई वर्षमै बैंकको शाखा प्रबन्धक बनिन् । थोरै शाखा हुने भएकाले त्यतिबेला शाखा प्रबन्धकको शान अझै बढी थियो, अझ महिला शाखा प्रबन्धकको त कुरै छाडौं । जुन शाखालाई पनि उनले उत्कृष्टसमेत बनाइन् । त्यसको प्रतिफलस्वरुप बंगलादेश बैंकका करिब १० वर्षको अवधिमा ५ वटा बढुवा पाइन् ।
नारीलाई चुनौति छ । तर, चुनौतीलाई व्यवस्थापन गर्न सक्नुपर्छ । नारीले परिवार र करिअरलाई सँगसँगै अघि बढाउन सक्नुपर्छ । मुख्य कुरा आफूप्रति नै विश्वास हुनुपर्छ । मिहेनत गर्नेलाई लक्ष्यमा पुग्न कसैले रोक्न सक्दैन ।
करिब १० वर्षपछि एनसीसी बैंकमा प्रवेश गरेकी उनले त्यहाँ पनि उत्कृष्ट काम गरेर पुरस्कृत हुँदा हाल उच्च तहमा पुगेकी हुन् । सुरुमा चाबहिल शाखाको प्रबन्धक हुँदा उनी उत्कृष्ट शाखा प्रबन्धकको रूपमा पुरस्कृत भएकी हुन् ।
वाणिज्य बैंकमा डेपुटी सिइओ हुने पनि उनी पहिलो महिला हुन् । सन् २०१७ मै उनी डेपुटी सीइओ भएकी हुन् । ‘त्यतिबेला सेकेन्डम्यानका रुपमा कार्यरत हुनुहुन्थ्यो होला’, उनी भन्छिन्, ‘तर अन्य बैंकमा डेपुटी सिइओ भनेर दिइएको थिएन ।’
उनले जागिर खाँदा बैंकिङ क्षेत्रमा महिलाको संख्या ज्यादै न्यून थियो । ‘कि त टेलरमा कि त कस्टमर सर्भिसमा मात्र महिला हुन्थे’, उनी भन्छिन्, ‘अहिले हाम्रै बैंकमा करिब ४० प्रतिशत कर्मचारी महिला हुनुहुन्छ, डिपार्टमेन्ट हेडमा महिलाहरु हुनुहुन्छ, यो ज्यादै खुशीको कुरा हो ।’
महिला भएका कारण आफूले कहिल्यै पनि विभेद नभोगेको बन्दना बताउँछिन् । ‘माइत, परिवार र कार्यालयमा कहिल्यै पनि मैले यस्तो विभेद भोग्नुपरेको छैन’, उनी भन्छिन्, ‘मलाई त पूर्णरूपमा परिवारको सहयोग भयो ।’
माष्टर पढिसक्दा पनि ठ्याक्कै कुन क्षेत्रमा लाग्ने भन्ने उनको योजना थिएन । ‘कतै जागिर खानुपर्छ र नाम कमाउनुपर्छ भन्ने मात्र थियो’, उनी भन्छिन्, ‘अहिले यहाँसम्म आइपुग्दा अब इमान्दारिता र प्रतिबद्धताको लेगिसी कसरी कायम गर्ने भन्नेमा केन्द्रित छु ।’
२८ वर्षअघि एसिसटेन्टका रुपमा बंगलादेश बैंकमा जागिर सुरु गर्दा र अहिलेको उनको काम गर्ने जोश–जाँगरमा कुनै कमी छैन । मेहेनत र इमान्दारिता नै आफ्नो सफलताको कारण भएको उनी बताउँछिन् ।
नेपाली समाजमा महिलाहरुलाई चुनौती भए पनि त्यसलाई व्यवस्थापन गर्न सक्नुपर्ने उनको सुझाव छ । कतिपय महिला कर्मचारीहरु बच्चा भएपछि जागिर छाड्ने कुरा लिएर उनीकहाँ पुग्छन् । तर, परिवार र करिअरलाई सँगसँगै अघि बढाउन उनी सुझाव दिन्छिन् । ‘मुख्य कुरा आफूप्रति नै विश्वास हुनुपर्दाेरहेछ’, उनी भन्छिन्, ‘त्यसपछि मेहेनत गर्नेलाई आफ्नो लक्ष्यमा पुग्न कसैले रोक्न सक्दैन ।’