काठमाडौं । ग्लोबल आइएमई बैंकले कटारी शाखाबाट औपचारिकरुपमा कारोबार सुरु गरेको छ । मंगलबार बैंकमा आयोजित कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र हिमगिरी सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयास कार्कीले संयुक्तरुपमा शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।
सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । कटारी शाखाले त्यहाँका स्थानीय बासिन्दा, साना किसान तथा व्यवसायीलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्नेछ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।