काठमाडौं । निजामती सेवाका अर्काे बलियो संगठन जन्मिएको छ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) निकट कर्मचारीहरुले नयाँ कर्मचारी संगठन दर्ता गरेका छन् । बुधबार श्रम विभागमा ‘एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल’ दर्ता भएको हो ।
१४ हजार ७ सय ५३ कर्मचारीको हस्ताक्षरसहित संगठन दर्ता गरिएको संगठनका अध्यक्ष मोहन घिमिरेले जानकारी दिए । निजामती सेवामा नयाँ संगठन दर्ता गर्न न्यूनतम ५ हजार हस्ताक्षर र २० वटा कार्यसमिति चाहिने प्रावधान निजामती सेवा नियमावलीमा छ । संगठनले ४७ वटा जिल्ला तथा विभागीय कार्यसमिति गठन गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठन बिघटन गरी नयाँ संगठन बनाइएको घिमिरेले बताए । कर्मचारी संगठनको इतिहासमा सबैभन्दा धेरै हस्ताक्षरसहित कर्मचारी संगठन दर्ता भएको हो ।