Logo
Logo

रूसको बमले युक्रेनको प्रसूति अस्पताल ध्वस्त


630
Shares

एजेन्सी । रूसले प्रहार गरेको बमले दक्षिणी युक्रेनको मारिउपोलस्थित प्रसूति अस्पताल ध्वस्त भएको युक्रेनका अधिकारीहरूले जनाएका छन् ।

बमबारीका कारण त्यहाँको प्रसूति अस्पतालमा आगो लागिरहेको भिडियो फूटेजहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । रूसले सो प्रसूति अस्पतालमा लडाकु विमानबाट लगातार बम बर्साएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रूसले खसालेको बमले शिशुहरू राखिएको अस्पतालको चिकित्सा सुविधा नै ध्वस्त भएको छ । मारिउपोल सिटी काउन्सिलले मानव हताहती पुष्टि गरेको छ ।

दोनेत्स क्षेत्रीय प्रशासनका प्रमुख पाभ्लो क्यारिलेन्कोले भने, ‘शहरको केन्द्रमा रहेको प्रसूति अस्पतालको शिशु कक्ष र आन्तरिक चिकित्सा विभाग रूसी बमबारीमा ध्वस्त भएको छ ।’ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि मारिउपोल अस्पतालमा रूसी सेनाले गरेको हवाई आक्रमणको भत्र्सना गरेका छन् । ‘रूसी सेनाले प्रसूति अस्पतालमा सीधै बमबारी गरेको छ । यो अत्याचार र आतंकलाई विश्वले कहिलेसम्म सहेर बस्नेछ ?’, उनले भने ।

राष्ट्रपति जेलेन्स्कीले अमेरिका नेतृत्वको उत्तर एटलान्टिक सन्धि गठबन्धन (नाटो) प्रति युक्रेनको आकाशलाई नो फ्लाइ जोन घोषणा नगरेकोप्रति कडा आक्रोश पनि पोखेका छन् । तत्कालै आकाश बन्द गरी हत्या रोक्न भन्दै उनले नाटोसँग शक्ति भएको, तर मानवता गुमेको हेरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्