काठमाडौं । युक्रेनसँगको युद्धमा ५,००० देखि ६,००० रुसी सेनाको मृत्यु भएको हुनसक्ने आफूहरूले अनुमान गरेको अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई बताएका छन् । रुस र युक्रेनबीचको युद्धको दोस्रो हप्तामा रुसले यतिका संख्यामा आफ्ना सेना गुमाएको अमरिकाले अनुमान गरेको हो ।
बिबिसीका अनुसार मृत्यु भएको संख्याको तुलनामा घाइतेहरूको संख्या सामान्यतया तीन गुणा बढी हुने अनुमानका आधारमा हेर्दा १५,००० देखि १८,००० रुसी सेना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।
नाम खुलाउन नचाहेका एक अमेरिकी अधिकारीले उक्त अनुमानलाई ‘निकै ठूलो क्षति’ भनेका छन् र उनले मृत्यु दरलाई दोस्रो विश्व युद्धका केही लडाइसँग तुलना गरेका छन् ।
युक्रेनले भने १२,००० रुसी सेनाको मृत्यु भएको दाबी गरेको छ । तर, गत हप्ता रुसले भने आफ्ना ५०० भन्दा कम सेना मारिएको जनाएको थियो ।