चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले दिगो र आत्मनिर्भर विकासका गतिलाई अगाडि बढाइरहेको बताउनुभयो । भरतपुर महानगरपालिकाले विकास निर्माणमा सार्वजनिक निजी साझेदारीको प्रयोग एवं नारायणी किनार विकाससम्बन्धी छलफल कार्यक्रममा उहाँले महानगरले तीव्र विकासका कामलाई अगाडि बढाएको बताउनुभयो । भरतपुर महानगरको सभाहलमा भिरोक एण्ड कम्पनीको संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि रहनु भएको प्रमुख दाहालले दिगो र आत्मर्निभर विकासका गतिलाई तीव्रता दिएको बताउनुभयो । उहाँले तेस्रो नगर सभाको तयारीमा रहेको भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणालाई कार्यन्वयनमा ल्याई अगाडि बढाइएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख दाहालले सरकार एक्लैले सम्पूर्ण विकास गर्न नसक्ने बताउँँदै भन्नुभयो, ‘सरकार निजी क्षेत्रको सहकार्यबाटै दिगो आत्मनिर्भर र दिगो विकास हासिल गर्न सक्छ । भरतपुर महानगरपालिका ठूला पूर्वाधार विकासको चरणमा रहिरहेको बताउँँदै रिड्गरोड लिड्करोड सिटीहल, बहुतले ब्यावसायिक भवनको निर्माणलाई तीव्रताका साथ अगाडि बढाएको उहाँको भनाइ थियो । प्रमुख दाहालले अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण पनि अब दु्रत गतिमा अगाडि बढिरहेको बताउनुभयो । कार्यक्रममा तेस्रो नगर परिसदबाट आयोजनाहरु तय गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाले नारायणी नदीकिनारलाई सी बीच मोडलको रूपमा विकास गर्न चाहेको बताउनुभयो । उहाँले यो योजना सार्वजनिक निजी साझेदारी मोडलमा अगाडि बढाउने बताउँदै सोही क्षेत्रमा व्यवस्थित अटोल्याण्ड र नारायणी नदी किनारमा रहेको नगर वनलाई मुख्य पर्यटकीय केन्द्रको रूपमा सोही मोडलबाट सम्पन्न गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रमा पनि सार्वजनिक निजी साझेदारीमा लगानी गर्न आह्वान गरिसकेको बताउँदै यसमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभयो । प्रमुख दाहालले सार्वजानिक निजी निजी साझेदारीको क्षेत्रमा भरतपुर महानगरपालिकालाई भिरोक एन्ड कम्पनी र यसका अध्यक्ष राधेश पन्तले विगतदेखि नै सहजीकरण र समन्वय गरिरहेकोमा धन्यवाद दिँँदै यसलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउन महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा सार्वजनिक निजी साझेदारी विज्ञ राधेस पन्तले नेपालमा यो विसय नयॉ भय पनि अति विकसित, विकासोन्मुख देशहरूमा सफल प्रयोग भइसकेको बताउँदै यसलाई सबै निकायले समन्वय गरेर विकासको प्रतिफल हासिल गर्नु पर्ने बताउनुभयो । बिरोक एन्ड कम्पनीका अध्यक्षसमेत रहनुभएका पन्तले यसका सबल पक्ष यसले दिगो र आत्मनिर्भर विकासको क्षेत्रमा पार्ने सकारात्मक प्रभावका बारेमा धारणा राख्नु भएको थियो ।
कार्यक्रममा निजी क्षेत्रको तर्फबाट उद्योग वाणिन्ज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले निजी क्षेत्र सधैँ नाफामा मात्रै केन्द्रीत हुन्छ भन्ने नकारात्मक सोचबाट मुक्त हुनु पर्ने बताउँदै निजी क्षेत्र अन्य पक्षसँँग मिलेर साना ठूला सबै प्रकारका पूर्वांधार निर्माणमा सहभागी हुन तयार रहेको बताउनुभयो । नारायणी नदी किनार र विकासमा उद्योग वाणिज्य संघ सधैँ क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी प्रमुख शासकीय अधिकृत नेत्रप्रसाद सुवेदी वडा न १० का वडा अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता अरूण पीडित भन्डारी, वडाअध्यक्षहरू, निजी क्षेत्रका प्रतिनिधीका साथै भरतपुरमहानगरपालिकाका प्राविधिकहरूले नारायणी नदी किनारको विकास, अटोल्याण्ड, नगर वन टापुको समेत समुचित विकास गरी पर्यटकीय केन्द्र बनाउनुपर्ने धारणा राखेका थिए ।