सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आजबाट सुरु भएको छ । जिल्ला अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्दैछ । नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुने भएको छ ।
सिन्धुपाल्चोक कांग्रेसको जिल्ला सभापतिका लागि तीन जना आकांक्षी मैदानमा छन् । जिल्ला सभापतिका लागि डा.प्रेमध्वज लामा, जंगबहादुर तामाङ र बंशलाल तामाङले उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला सभापतिका दाबेदार प्रेमध्वज लामालाई जिताउन नेपाली कांग्रेसका उपाध्यक्ष पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँण र पार्टी प्रवक्ता डा. प्रकाशशरण महत नै भिडेका छन् । लामा त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकबाट राजीनामा दिएर सभापतिमा उम्मेदवार भएका हुन् ।
त्यसैगरी जंगबहादुर तामाङलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन रहेको छ । अर्का सभापतिका दाबेदार बंशलाल तामाङलाई डा. शेखर कोइरालाको समूह जिताउन लागेको छ ।