काठमाडौं । गर्मी मौसम सुरु भएसँगै फेसन बजार जुर्मुराएको छ । ‘फेसनेवल’ बन्न चाहनेहरुका लागि प्रिय मौसम पनि हो गर्मी । गर्मी मौसममै बजारमा नयाँ नयाँ फेसनहरु भित्रिरहेका हुन्छन् । गर्मी मौसमसँगै फेसन डिजाइनर पम्फा श्रीस मगरको व्यस्तता बढेको छ । ‘गर्मी मौसम सुरु भएकाले त्यहीअनुसार ड्रेस तयार गर्नुपर्छ’ जम्काभेटमा बागलुङकी पम्फाले भनिन्, ‘यो फेसन पारखीहरुको सिजन हो ।’ ललितपुरको झम्सिखेलस्थित ‘पम्फाज कटुर’ नामक बुटिक तथा फेसन स्टोरकी सञ्चालक पम्फा आफैँ पनि फेसनेवल छिन् । पम्फासँग एमपी सुब्बाको जम्काभेट :
गर्मी मौसमसँगै फेसन बजार तात्यो होइन त ?
हो, फेसन गर्नेहरुका लागि गर्मी मौसम सिजन हो । गर्मी महिनामै सबै जना फेसनेवल र स्टाइलिस्ट हुन चाहन्छन् । त्यसैले अहिले मेरो व्यस्तता बढेको छ ।
गर्मीका लागि ड्रेस बेग्लै हुन्छ । बढी के अर्डर आउँछ ?
गर्मी मौसममा क्याजुअल ड्रेस बढी लगाइन्छ । क्याजुअल पनि डिजाइनिङका हुन्छन् । जो हल्का, लाइट र कम्फटेवल हुनुपर्छ । गर्मी सुरु भएको धेरै भएको छैन । तर, हल्का र लाइट ड्रेसहरु अर्डर अलि पहिलेबाटै आइरहेको छ ।
डिजाइनरहरुले मौसमअनुसार ड्रेस तयार गर्छन् । यो गर्मीका लागि तपाईँ कस्तो ड्रेस बनाउँदै हुनुहुन्छ ?
बजारमा जे चलेको छ, त्यही बढी अर्डर आउँछ । मैले क्याजुअल टाइपका हल्का ड्रेसहरु तयार गर्दैछु । लगाउनेलाई पनि कम्फटेवल हुनुपर्छ । साथसाथै, स्टाइलिस्ट पनि देखिनुपर्छ ।
फेसन डिजाइनर पेसा कसरी रोज्न पुग्नुभयो ?
सानैदेखि अरुले राम्रो लगाएको र आफू पनि राम्रो लगाउन मन पराउँथे । फेसन के हो भन्ने नबुझेको बेलामा पनि म राम्रो, फिटिङ र स्लिम मन पराउँथे । र, आफूले बनाएको ड्रेसले अरुलाई सुहाएको देख्दा खुसी हुन्थे । त्यसैले म फेसन दुनियाँमा आकर्षित भएँ ।
तपाईको बुझाइमा फेसन के हो ?
स्टाइलिस्ट र डिफ्रेन्ट देखिनु नै फेसन हो जस्तो लाग्छ । र, जुन कम्फटेवल र फरक लुक्स हुनुपर्छ ।
स्टाइलिस्ट हुन डिजाइनिङ ड्रेस हुनुपर्छ । तर, बुटिक भन्ने शब्द सुन्दै धेरैले महँगो हुन्छ भन्छन् नि ?
नेपालमा बुटिक क्रेज भर्खरै भित्रिँदै छ । त्यसैले बुटिकका पहिरन महँगो हुन्छ भन्ने सोच धेरैमा छ । पक्कै पनि फेन्सीमा भन्दा बुटिकमा डिजाइन गरिएको हुनाले अलि महँगो हुन्छ नै । तर, बुटिकमा तयार गरिएका पहिरन लगाउँदा कम्फटेवल हुन्छ । आफ्नै शरीर नापेर तयार पारेको पहिरन लगाउनु र बजारमा किनेकोमा फरक हुन्छ नै ।
बुटिक भनेकै पहिरन तयार गर्ने हो । पम्फाज कटुरको विशेषता के हो ?
मलाई ‘ड्रेपिङ’मा बढी रुची छ । त्यसैले ‘ड्रेपिङ’लाई नेपालको डिजाइनिङ क्षेत्रमा स्थापित गरेर अगाडि बढ्ने मेरो सोच छ । तर, यो अलि महँगो हुन्छ । नेपालमा कम पनि हुन्छ । तैपनि ‘ड्रेपिङ’लाई नै विशेष बनाएर शोरुम खोल्ने सोच बनाएकी छु ।
अहिले ‘ड्रेपिङ’ गरिएका पहिरनहरु अर्डर आउँछ कि आउँदैन ?
आइरहेको छ । तर, बुझेर होइन, देखेर । यस्तो डिजाइनमा बनाइदिनुप¥यो भन्दै आउँछन् ।
फेसन डिजाइनरको भविष्य कस्तो देख्नुहुन्छ ?
फेसन डिजाइनरहरुको भविष्य उज्ज्वल छ । हिजोका भन्दा अहिलेका पुस्ता फेसनप्रति कन्सस हुँदै गएका छन् । समाज आधुनिकतातिर बढिरहेको छ । अर्को कुरा, सबै राम्रै लगाउन रुचाउँछन् । त्यसैले पनि फेसन डिजाइनरको भविष्य राम्रो छ ।
आफूलाई कतिको ‘फेसनेवल’ ठान्नुहुन्छ ?
फेसनेवल नै छु । साथै, कन्सस पनि । फेसन गर्नुअघि समय, कार्यक्रम र स्थानको ध्यान दिन्छु । कस्तो कार्यक्रममा जाँदैछु भन्ने बुझेर फेसन गर्नु आवश्यक छ । फेसनप्रति कन्सस भएरै डिजाइनिङ पेसा रोजेँ ।
तपाइँको फेभरेट पहिरन र कलर कुन हो ?
मलाई डार्क कलर मनपर्छ । हुन त अरु कलर पनि लगाउँछु । मैले बढी लगाउने पहिरन गाउन र सारी हो । कम्फटेवल हुनका लागि गाउन लगाउँछु । तर, मलाई सारी बढी मनपर्छ । सारीले नारीलाई ग्ल्यामर देखाउँछ ।