हेर्दाहेर्दै क्रान्तिका सपनाहरूको मलामी जान अभिशप्त कार्यकर्ताहरुमध्येको एक हुँ म । तपाईँजस्तै । हिजो भूमिगत हुँदा एकै गुन्द्रीमा बसेर कुरुमकुरुम मकै र मोही खाएको सहयोद्धाको अनुहार फेरिँदा फेरिँदा चिन्नै नसकिने भएको छ आज । जै पनि कम्युनिष्टको व्यापार गर्न उसले आज पनि कथा त झुपडीको नै गर्छ, तर बिल्कुल लय, ताल नमिलेको जस्तो सुनिने गरी ।
फागुन २१ को बिहान पञ्चायती शासकहरुले हत्या गरेका झापाका वीर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको स्मृतिमा श्रद्धाअर्पण गर्ने कर्मकाण्ड यो वर्ष पनि पुरानै ढर्रामा देखियो ।
तत्कालीन नेकपा माओवादीद्वारा चलाइएको सशस्त्र आन्दोलनको क्रममा मारिएका शहीदहरुलाई पनि फूलमाला चढाइएकै छ । सुखानी, झोडा, छिनताङका क्रान्तिका कथा पढेर स्कुले जीवन बित्यो । माओवादी क्रान्तिका रूमानी सपनाहरुले जीवनको अर्को एक दशक खाइदियो ।
मैले मेरो कथा भनिरहेको छैन, धेरै देश छोडेर हिँड्न विवश, युद्धमा गुमाएका छोराछोरी सम्झेर आँगनमा मृत्यु पर्खिएका बूढा बाआमाहरुको कथा भनिरहेको छु ।
दाजुभाइ, दिदीबहिनीहरु जसले सँगैको परिवारका सदस्य गुमाए, उनीहरुको कुरा गर्दैछु । जसले सपना देखाएर युद्धमा होम्यो, उसले दिएको धोकाको कुरा गर्दैछु । भुइँ बिर्सिएको भुइँमान्छेका कथा बोल्दैछु । जसको रगतको महासागर टेकेर सत्तामा पुगियो, त्यो रगतमाथिको प्रतिघातको आवाज लेख्दैछु ।
भक्तहरुका निम्ति राणा शासन पनि ठीकै थियो होला । पञ्चायतमा राजाको ताबेदारी गर्नेहरुले राजभक्तको नाममा अर्थोपार्जन गरी सुखसयल गरिरहेकै थिए । राज्य दोहन गरिरहेको अवसरवादी चरित्रको मानिसका लागि पञ्चायती व्यवस्था आफ्नै माटो सुहाउँदो थियो नै । तर व्यवस्थाले बिर्सिएका, वर्षौँदेखि कूव्यवस्था र असमान सामाजिक चरित्रका कारण उत्पीडनमा परेकाहरुको लागि त त्यो व्यवस्था नर्क नै थियो । त्यसैले त विद्रोहको शंखनाद भयो ।
चेतनशील नागरिक विद्रोहमा उत्रिए ज्यानको बाजी थापेर । ०४६ सालमा बहुदल आयो । यिनै सुखानीका शहीदहरुलगायत कप्तान यज्ञबहादुर थापा, राम लक्ष्मणजस्ता वीर वीरंगनाहरुको रगतकै कारण ।
व्यवस्था त बदलियो । थिति बदलिएन । जनताले बहुमत दिएको कांग्रेस नाम मात्रको कांग्रेस भयो । उही पञ्चायती प्राण बोकेको बहुदलीय कांग्रेस । कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई अपमानित गर्दै वडासम्म कांग्रेसलाई नै विभाजन गरेर सत्ताको भरमग्दुर फाइदा लुट्न पल्केको एउटा गिरोहले कांग्रेस सिध्यायो ।
मुखमा विपि कोइरालाको स्तुति, व्यवहारमा हुनेखानेहरुकै हितमा काम । उल्टो बाटोमा हिँडेको कांग्रेसले आन्दोलनको सहयात्री कम्युनिष्टहरुलाई सिध्याउनुमा आफ्नो सफलता देख्यो । परिवर्तनको त्यत्रो ठूलो एजेन्डाबाट च्युत कांग्रेस सत्तामोहमा मनपरी गर्दा वामपन्थी शक्तिको ठूलो विस्तार भयो ।
झापा आन्दोलनको तेज बोकेर आएको माले र बौद्धिक विमर्शहरुको जमघट रहेको माक्र्सवादीको एकताले अर्को बलियो शक्ति उदय भयो । कालान्तरमा सत्ताको चास्नीमा डुबेपछि यिनीहरुले पनि जमिन भुले । आफूले खाएका बाचा भुले । कसम भुले । केन्द्रमा केवल आफू र आफ्ना, आफ्ना गुट, नातागोता मात्र बाँकी रहे ।
भूमिको असमान वितरण, हिन्दू धर्मको आड लिएर वर्षौंदेखि चलाइएको जातीय अव्यवस्था, राज्यले गर्ने असमान व्यवहार, निर्णय तहमा पहुँच हुनै नदिने गरी बनाइएका सामन्ती संरचना भत्काउन साम्यवादी व्यवस्थामा मात्रै सम्भव छ भनेर माओवादीले थालेको जनक्रान्तिको बिगुल फुके प्रचण्ड, मोहन वैद्य र बाबुरामहरुले ।
यो क्रान्तिको शंखनादमा धेरै सामेल भए । समाजका पिला खटिराहरुसँगै सिंगो राजतन्त्रलाई नै यो क्रान्तिको वेगकके बगायो । तर, जुन उद्देश्यका साथ क्रान्ति आरम्भ भएको थियो, त्यहाँ पुग्न सकिएन ।
क्रान्ति कुनै सोझो रेखामा हिँड्ने कुरा त होइन तर समाजको मूल समस्या यथावत रहँदा नेतृत्वप्रति अविश्वास पैदा भयो । जनताको मूल समस्या केन्द्रमा रहेन, केन्द्रमा केवल सत्ता रह्यो । भूमिको असमान वितरण, राज्यका मुख्य सेवाहरु शिक्षा र स्वास्थ्यसमेत निजी क्षेत्रलाई अर्पण गरेर कोरा समाजवादको नारामा नेपालका कम्युनिष्टहरु लागिरहे । सत्ता प्रधान राजनीतिले ओली र माधव नेपालका नदीका दुई किनारा बनाइदियो । प्रचण्ड र ओलीलाई मिलाइदियो, फेरि अलगथलग गरिदियो ।
सत्ताको शिखरमा विवेक गुमाएर जनमत, शहीदको आशा सबै बिर्सेर एकले अर्कोलाई छुद्र गाली गर्ने, अपमानित गर्ने काम भइरहेको छ । आफ्ना सरकार गिरेर सत्ता कांग्रेसको हातमा पुगेको छ । जसले जति अर्कोतिर दोष सोझ्याए पनि सबै नेताहरु यसमा जिम्मेवार छन् ।
चरणदासहरुले नेताहरुलाई यसरी टाँगावाल घोडाको रुपमा विकसित गरेका छन् यी सिंगो वाम आन्दोलनको पश्चिम बंगालकरण नभई कसैको चेत खुल्नेवाला छैन । एमसीसीजस्तो संवेदनशील विषयलाई सत्ताको बार्गेनिङ बनाउने एमाले र आफ्ना समर्थकहरुलाई सडकमा पठाएर ब्याख्याको टालोले मुख छोपेर हतार–हतार पास गर्नुपर्ने सत्तासिन वामहरुको नियतिले नै कम्युनिष्टहरुको असली चरित्र उजागर गरिदिएको छ ।
मानिसहरुले प्रश्न गर्न थालेका छन्, सत्तामा पुगेर आफ्नो मात्रै फलिफाप हुनका निम्ति हाम्रा कार्यकर्ताले आहुति दिएका हुन् ? तपाईंले जे बचन दिएर सहिद हुन कार्यकर्तालाई लामबद्ध गर्नुभयो, किन तपाईंले आफ्ना समाज परिवर्तनका एजेन्डाहरुमा अडान लिएर लडाइँ लड्ने हिम्मत गर्नुहुन्न ?
तपार्इं माले, एमाले, माओवादी, मसाल, मोर्चा जेसुकै भन्नुस्, गलत व्यक्तिहरुलाई काखी च्यापेर जुन दिनसम्म ठूला कुरा गर्नुहुन्छ, त्यो दिनसम्म तपाईंले यो समाज बदल्नुहोला भनेर कसरी विश्वास गर्ने ? किन विश्वास गर्ने ?
अझ ठूलो प्रश्न छ, हे यदुवंशी हो, कहिले खुल्छ तिम्रो ब्रम्ह ? फुटेर टुक्राटुक्रा भएको तिमी कसरी शिखरमा पुगेर झन्डा गाड्ने कुरा गर्छौं ? जतिसुकै कुरा गरेपनि विभाजित अवस्थामा कसैको विजय हुँदैन । सजिलोको बेला वरिपरि झुम्मिएकाहरु भोलि अवसर पाउनेबित्तिकै अर्को घरमा सरिहाल्छन् ।
सहिदका सपनाहरुलाई बेचीखाने छुट कसैलाई छैन । न त सपना देखाएर बीच बाटोमा अलपत्र छोड्ने छुट कसैलाई छ । तमाम शहीद परिवार, उनका इष्टमित्रहरु, साथी संगाती सबैलाई यही लागिरहेको छ ।
समयको कठघराले ढिलोचाँडो सबैलाई उभ्याएर दण्डित गर्नेछ । डेकेन्द्र राजवंशीको आत्महत्या देखिसकेका छन् धेरैले । कार्यकर्ताहरुको धैर्यको बाँध टुट्न लागेको छ । परिवर्तनको नारा लगाएर आफू र आफ्ना मात्रको जीवन फलिफाप गराएकाहरुलाई त्यो सागरले पक्कै बगाउनेछ ।
मदनपोखरा, पाल्पा