Logo
Logo

लुटलाई छुट दिँदैनौंः माधव नेपाल


रुपेन्द्र पटेल

693
Shares

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारी, कमिशनखोर र अराजकता मच्चाउने प्रवृतिको अन्त्य गर्दै नयाँ नेपाल, समुन्नत नेपाल बनाउने अभियानमा अघि बढ्नुपर्ने बताएका छन् । रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरीमा नेकपा एसद्धारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अराजकता मच्चाउन थालेपछि नेकपा एमालेबाट अलग भई नयाँ पार्टी निर्माण गरेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गराएर अराजकताबाट मुलुकलाई मुक्ति दिलाउनुपरेको अध्यक्ष नेपालको भनाइ थियो । सूर्यमा ग्रहण लागिसकेपछि ओलीलाई छाडेर जनप्रिय, बुद्धिजीवी, लोककल्याणकारी पार्टी गठनपछि देशको ७७ वटा जिल्लामा पार्टी र संगठन विस्तार गरिएको स्पष्ट पार्दै उनले जनतालाई लुट्ने, भ्रष्टाचारी, अराजकता मच्चाउने व्यक्तिबाट मुलुकलाई केही नहुने र लुटको प्रवृत्तिलाई वर्तमान सरकारले छुट नदिने स्पष्ट पारे । महिलाहरुको हकमा सुनौलो भविष्यको उदय हुँदैछ, समान अधिकार, सीपको व्यवस्थापनसहितको जीविकोपार्जनका लागि नेकपा एसद्धारा सकारात्मक कदम चालिरहेको अध्यक्ष नेपालले बताए ।

बेरोजगार जनताहरु वैदेशिक रोजगारीमा जाँदा सीपको अभावका कारण अनावश्यक झन्झट भएकाले वर्तमान सरकारको श्रम तथा रोजगार मन्त्रालयले गाउँ गाउँमा सीपको व्यवस्थापन गराएर निःशुल्क भिषा र टिकटको व्यवस्थापन निकट भविष्यमा नेकपा एसले गर्ने उनले प्रतिबद्धता जनाए । स्थानीय तहसहित प्रदेश र संघीय निर्वाचनमा माओवादी र जसपासँग सहकार्यका लागि छलफल भइरहेको बताउँदै अध्यक्ष नेपालले कांग्रेसलाई पनि छलफलमा समावेश गरिएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्नो भाषणको अधिकाँश समय नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गरेका थिए । केपी ओली प्रवृत्तिका कारण मुलुक निकै कठिन घडिबाट गुजे्रर बल्लतल्ल पार पाएकाले आउँदो निर्वाचनमा ओली प्रवृत्तिलाई परास्त गरेर नयाँ नेपाल निर्माण गराउने नेकपा एसको पक्षमा मतदान गर्न समेत उनले आग्रह गरे ।

सो कार्यक्रममा श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले आफू मन्त्री भएदेखि नै वैदेशिक रोजगारमा गएका व्यक्तिहरुलाई ठगी गर्ने, श्रम शोषण गराउने खालका प्रवृत्तिलाई अन्त्य गर्ने र तिनीहरुलाई झुक्याउने मेनपावर कम्पनी विरुद्ध कारबाही प्रक्रिया सरकारले चलाएको बताए । एमसीसीको विषयमा धेरै बखेडा गरिए पनि नेकपा एसकै योजनामा १२ बुँदे व्याख्यात्मक शर्तका साथ संसद्बाट पारित गरिँदा पार्टीप्रति जनतामा उत्साह एवं विश्वास बढेको उनले बताए । मन्त्री श्रेष्ठले पार्टीको संगठनलाई विस्तार गरी आउँदो निर्वाचनमा कलम छापका उम्मेद्वारलाई मतदान गरेर पार्टीलाई मजबुत बनाउन पनि अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्