काठमाडौं । न्यूनतम सुविधा बिना दैनिक १५ घन्टासम्म डिउटीमा खटिदै आएका सुरक्षाकर्मीमाथि राज्यले फेरि विभेद गरेको छ । निर्वाचनमा कर्मचारीलाई प्रशस्त सुविधा दिने तर प्रहरीलाई पनि पानी खाने पैसा दिन पनि अर्थ मन्त्रालयले कञ्जुस्याई गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्मा प्रहरीलाई माया गर्ने नेताका रुपमा चिनिन्छन् । तर, आसन्न स्थानीय तह निर्वाचनमा अर्थ मन्त्रालयले सुरक्षा निकायमाथि गरेको विभेदले भने उनले सुरक्षाकर्मीको पीडा पटक्कै नबुझेको देखिन्छ ।
आसन्न स्थानीय चुनावका लागि अर्थले सुरक्षा निकायलाई अत्यावश्यक बजेट समेत दिएको छैन । चुनावमा म्यादी प्रहरीलाई लठ्ठी किन्ने पैसा समेत पर्याप्त नदिएको गृह मन्त्रालयका अधिकारी बताउँछन् । अर्काेतर्फ विगतका चुनावमा प्रहरीलाई भत्ता र खाजा खर्च दिइन्थ्यो । त्यो समेत दिइएको छैन । निर्वाचनको समयमा अन्य समयमा भन्दा धेरै डिउटी गर्नुपर्ने हुन्छ । सोही आधारमा उनीहरुलाई खाजा खर्च र भत्ता दिने गरिदै आइएको छ । तर, त्यो खर्च समेत नदिएपछि तलबबाट परिवार पाल्न नसक्ने प्रहरीले निर्वाचनमा कस्तो मनोबलका साथ काम गर्छन् भन्ने प्रश्न उठेको छ ।
जबकि, निर्वाचन आयोगका कर्मचारीले भने माघदेखि नै डबल तबल पाउन थालिसकेका छन् । दिनमा थप एक घन्टा काम गरेकै आधारमा उनीहरुले दोब्बर तलब पाउँदा दिनमा १८ घन्टासम्म काम गर्ने प्रहरीलाई भने पानी किन्ने पैसा समेत नदिनुले राज्यको चरित्र प्रष्ट हुन्छ ।