काठमाडौं । रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किएभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ ।
बिबिसीले उल्लेख गरअनुसार मंगलबार साँझ किभमा कर्फ्यु लागू रहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका थिए ।
‘हामी तपाइँहरूको साहसी लडाइँको प्रशंसा गर्छौँ’ भेटपछि सामाजिक सञ्जाल ट्विटरमा पेत्र फियालाले लेखेका छन्, ‘हामीलाई थाहा छ तपाइँहरूको हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाइँहरू एक्लो हुनुहुन्न । हाम्रा देशहरू तपाइँका साथमा छन् ।’
पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तै नहुने टिप्पणी गरेका छन् । मोराभिएत्सकी, फियाला र स्लोभेनियाका यानेस यान्सा गत फेबु्रअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई भेट्ने प्रथम अन्तर्राष्ट्रिय नेता हुन।
‘तपाइँहरूको भ्रमण युक्रेनको लागि समर्थनको शक्तिशाली अभिव्यक्ति हो’ जेलेन्सकीले किभ पुगेका नेताहरूको समूहलाई भनेको बताइएको छ । किएभमा युरोपका तीन नेताहरूसँग छलफल भइरहेका बेला ठूलो विस्फोटनको आवाज सुनिएको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ ।
युक्रेन पुगेका नेताहरूले आफूहरूसँग कुनै निश्चित म्यान्डेट नरहेको तर फ्रान्समा गत हप्ता भएको युरोपेली संघको सम्मेलनका क्रममा उल्लेख गरिएका कारण ब्रसल्सका नेताहरूलाई भ्रमणको जानकारी रहेको बताए ।
साथै, भेटपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमणको उद्देश्य युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको लागि सम्पूर्ण युरोपेली संघको स्पष्ट समर्थन पुष्टि गर्नु र युक्रेनी राज्य र समाजको लागि समर्थनको व्यापक प्याकेज प्रस्तुत गर्नु हो ।’