राजनीतिक दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित भएका छन् । नेताहरू देशव्यापी चुनावी अभियानमा व्यस्त छन् । चुनावी घोषणापत्र तयार पार्ने कामसमेत दलहरूले थालिसकेका छन् । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठकबाट सम्पूर्ण शक्ति स्थानीय निर्वाचनमा लगाउने निर्णय गरिसकेको छ ।
समाजवादीले प्रतिगमनकारी शक्तिलाई परास्त गर्न र अग्रगामी शक्तिको शानदार जित सुनिश्चित गर्न गठबन्धनमा जोड दिएको छ । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोसँग समसामयिक विषयमा दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।
गठबन्धनको टुंगो नलाग्दै के आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गर्नुभयो ?
प्रतिगमनलाई पत्तासाफ पार्न अग्रगमनकारी शक्ति एक ठाउँमा उभिनुपर्छ । त्यसका लागि अग्रगमनकारी शक्तिको गठबन्धन आवश्यक छ । स्थानीय तहको निर्वाचनमा मात्रै होइन, प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्छ भन्ने हाम्रो मान्यता छ । स्थानीय स्तरमा जुन पार्टीसँग गठबन्धन गरेर सफलता प्राप्त गर्न सकिन्छ, त्यहीआधारमा गठबन्धन बनाउने भन्ने नै हो । त्यही आधारमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका हौँ ।
गठबन्धनको बलमा मात्रै अगाडि बढ्ने कि आफ्नो जग पनि बलियो बनाउन ध्यान दिने ?
कुरा सत्य हो । पार्टीले एक्लै जित्ने गरी संगठनलाई बलियो बनाउनुपर्छ । हामी संगठन निर्माणमा दिनरात खटिरहेका छौँ । नेकपा (एकीकृत समाजवादी) गठन भएको छोटो अवधिमा नै देशव्यापी शक्तिको रुपमा स्थपित भएको छ । हामी देशकै ठूलो शक्ति बन्नेगरी अगाडि बढिरहेका छौँ । एकल रुपमा जित्न सक्ने अवस्थामा रहेको ठाउँमा गठबन्धन आवश्यक पर्दैन । त्यहाँ स्वच्छ प्रतिष्पर्धा हुन्छ । जहाँ प्रतिगमनकारी शक्ति हाबी हुन्छ, त्यहाँ अग्रगमनकारी शक्ति गठबन्धन गरेर जानुपर्छ । किनकि, प्रतिगमनकारी शक्ति पनि गठबन्धन गरेरै निर्वाचनमा जान्छन । त्यसकारण हामीले केन्द्रीय कमिटी बैठकमा नौ वटै समूहको सामुहिक छलफलमा गठबन्धन बनाएर जानुपर्छ भन्ने निष्कर्ष निकालेर सोहीअनुसारको सुझाव दिएका हौँ ।
विद्रोह गरेको पार्टी एमालेभन्दा एकीकृत समाजवादी के मानेमा फरक छ ? एमालेलाई मत दिएका जनताले अब एकीकृत समाजवादीलाई किन रोज्ने ?
एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ, घमण्ड, दक्षिणपन्थी, अवसरवादी, विसर्जनवादी र व्यक्तिवादी सोचका कारण हामी एमालेमा बस्न नसकेर विद्रोह गरेका हौँ । ओली प्रतिगमनकारी, अवसरवादी हुँदै गए । उनले समाजवादको दिशामा एक इन्च पनि काम गर्न सकेनन् । दुई तिहाई बहुमतको सरकारमा हुँदा पनि ओलीले जनजीविकाको सवाल सम्बोधन गर्न सकेनन । जनताको पक्षमा काम गरौँ भन्दा बरु कुर्सी नै भाँचिदिने धम्की दिँदै ओलीले असंवैधानिक रुपमा दुई–दुई पटक संसद नै विघटन गरिदिए । सर्वोच्च अदालतले असंवैधानिक काम भयो भन्दाभन्दै प्रतिगमनको मतियार बनेर उनले पटक–पटक संसद विघटन गरे । विचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने र इमान्दार नेता तथा कार्यकर्तालाई पाखा लगाउने काम ओलीले गरे । देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता नै धरापमा पर्ने अवस्था आएपछि हामीले प्राप्त उपलब्धिको रक्षा गर्नका लागि व्रिदोह गरेका हौँ ।
विधि, विधान र पद्धति र जनताको पक्षमा काम गर्ने संकल्पका साथ हामी अगाडि बढिरहेका छौँ । हामीले एमालेको नवौँ महाधिवेशनबाटै एउटा क्रान्ति सम्पन्न भयो, अब समाजवादउन्मुख कार्यक्रम अगाडि बढाउने र सुखी नेपाली, समृद्धि नेपालको अवधारणा अगाडि सारेका थियौँ । तर, अहिले एमालेको १०औँ महाधिवेशनले पारित गरेको दस्ताबेजलाई हेर्नुस त–एमालेले अहिले क्रान्ति सफल भएको पनि भन्न सकेको छैन । जनताको बहुदलीय जनवादको मात्रै कुरा गरेर देशमा समाजवाद आउँछ ? जबसम्म हामीले आधार तयार गर्दैनौँ तवसम्म समाजवादको कल्पना गर्न पनि सकिँदैन । त्यसकारण एमालेबाट आश गर्न सक्ने ठाउँ अब बाँकी छैन । त्यसकारण इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्ताले एमालेबाट विद्रोह गर्न थालिसक्नुभएको छ ।
समाजवादीको शासनमा जनताले के–के पाउँछन ?
जबसम्म हामीले समाजवादी कार्यक्रम अगाडि बढाउँदैनौँ, समाजवादको आधार तयार गर्दैनौँ, तबसम्म देशमा आर्थिक समृद्धि सम्भव छैन । हामी समाजवादी कार्यक्रममार्फत जनजीविका सम्बोधन गर्दै देशको विकास गर्ने छौँ । जनताको आधारभूत आवश्यकता राज्यले पूरा गर्नुपर्छ । काम गर्ने आवश्यक वातावरण राज्यले तयार गरिदिनुपर्छ । गास, बास र कपासका साथै शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ । व्यक्तिले योग्यता र क्षमताअनुसारको काम गर्न पाउनुपर्छ । राज्यले प्रत्येक नागरिकलाई रोजगारीको व्यवस्था गर्नुपर्छ । यदि, कसैलाई रोजगारी दिन सकिएन भने बेरोजगार भत्ता दिनुपर्छ । जनशक्तिलाई देशभित्रै परिचालन गरेर मात्रै समृद्धि मुलुक निर्माण गर्न सकिन्छ । हामी त्यसतर्फ ध्यान केन्द्रित गरेर अगाडि बढेका छौँ ।
अहिलेकै ढंगले तपाईले भनेका विषय सम्बोधन हुन्छ त ?
अहिले अधिकांश स्थानीय तहले राम्रो काम गर्न सकेका छैनन् । जबसम्म स्थानीय तह मजवुत हुँदैनन्, तवसम्म सोचेअनुसारको काम हुन सक्दैन । प्रदेश र केन्द्रले जति नै राम्रो नीति लिए पनि कार्यक्रम फितलो नै हुन्छ । आगामी निर्वाचनमार्फत स्थानीय तह, प्रदेश र केन्द्रमा नेकपा (एकीकृत समाजवादी) को बलियो उपस्थिति बनाएर हामी समाजवादी कार्यक्रमका साथ अगाडि बढ्छौँ । त्यसबेला जनताले परिवर्तनको महसुस गर्न पाउने छन् ।
तपाई मधेस प्रदेशको मन्त्री पनि हुनुहुन्छ । तपाईँले समाजवादी आधार निर्माण गर्ने काम गर्नुभएको छ त ?
प्रदेश सरकार गठन भएको चौथो वर्षमा हामी सरकारमा सहभागी भयौँ । मधेसको समस्या के हो ? समाजवादी आधार कसरी तयार पार्ने भन्नेमा हामी केन्द्रित भएर लागेका छौँ । मैले मधेस प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय सम्हालिरहेको छु । उद्योग, कलकारखाना, पर्यटकीय क्षेत्रमा प्रभावकारी रुपमा कसरी काम गर्ने भन्नेमा मेरो पूरा ध्यान गएको छ । पर्यटकीय हिसावले मधेस प्रदेशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने छलफलमा हामी जुटेका छौँ । मधेस प्रदेशमा धार्मिक महत्व बोकेको रामजानकी मन्दिर, धनुषाधाम, छिन्नमस्ता, गढीमाई, पर्सा राष्ट्रिय निकुन्ज, कोशीटप्पुलाई पर्यापर्यटन र धार्मिक पर्यटनको विकास हुँदै छ । गण्डकी प्रदेशको मुख्यमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्रीलगायतको टोलीले अध्ययन भ्रमण गरेको छ । हामी पनि पोखरा जाँदै छौँ । विदेशी पर्यटक काठमाडौंबाट पोखरा, भैरहवा जान्छन । तर, जनकपुर आउन कनेक्टिभिटीको समस्या थियो । अब कनेक्टिभिटी सुरु भएको छ । हामी ठोरीमा मन्त्रिपरिषदको बैठक राख्दै छौँ । हामीले रामायण सर्किटको विषय पनि अगाडि बढाएका छौँ । हामी बौद्ध सर्किट, जैन सर्किटको पनि विषय उठान गरिरहेका छौँ । हामी हरेक क्षेत्रमा समाजवादको आधार तयार पार्ने काममा जुटेका छौँ ।
उद्योग धन्दा नखोली रोजगारी सिर्जना हुँदैन, मधेस प्रदेशमा उद्योग धन्दा संचालन हुँदै छ त ?
उद्योगधन्दा संचालनका लागि केही कानुनी जटिलता देखिएको छ । उद्योग खोल्नका लागि संघीय सरकार वा स्थानीय सरकारबीच तालमेल हुनुपर्ने देखिएको छ । मुख्यमन्त्री र प्रधानमन्त्रीबीच छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ । हामीले नियमावली बनाइसकेका छौँ । हामीले उद्योगी, व्यवसायीहरूसँग पनि छलफल चलाइराखेका छौँ । प्रदेशको स्थायी राजधानी पनि टुंग्याइसकेका छौँ । उद्योगधन्दा खोल्ने वातावरण तयार गर्नु सरकारको दायित्व हो । आवश्यक वातावरण हामी बनाउँदै छौँ । उद्योग धन्दा खोल्न उद्योगीहरू सम्पर्कमा आइराख्नुभएको छ ।
गठबन्धनको सरकार भएकाले केन्द्रीय सरकारसँग समन्वय गर्न अहिले अप्ठेरो त छैन होला नि ?
प्रदेश सरकारका आफ्ना सीमा छन् । संघीय सरकारको पनि आफ्नै सीमा होला । मुख्यत हाम्रो जोड भनेको जनतालाई सर्वसुलभ रुपमा सेवा प्रवाह गर्नु नै हो । जनताको आर्थिक अवस्था उकास्दै देशलाई समृद्ध बनाउनु नै हो । त्यसकारण केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेरै हामी अगाडि बढिरहेका छौँ ।
सरकारी उद्योग धेरै बन्द भए, अव फेरि सरकारले उद्योग खोल्ने सोच छैन ?
जनकपुर चुरोट कारखाना बन्द भयो । चिनी कारखाना, सिगो, धागो कारखाना बन्द भएका छन् । निजी लगानीका उद्योग फस्टाउने तर, सरकारी लगानीका उद्योग बन्द हुने अवस्था किन आयो भनेर गम्भीर समीक्षा गर्नुपर्छ । सरकारी उद्योग कलकारखाना किन बन्द भए ? देशमा उद्योग कलकारखाना कसरी खोल्ने ? निजी क्षेत्रलाई कसरी प्रोत्साहित गर्ने ? हामीले उत्पादन बढाउने, उद्योगधन्दा खोल्ने र देशभित्रै रोजगारी सिर्जना गर्नेतर्फ सोचिरहेका छौँ । हामी एउटा निष्कर्षमा पुग्छौँ । जसको जे जिम्मेवारी हो, त्यही आधारमा विकास गर्दै जानुपर्छ । आर्थिक समृद्धि र समाजवादको लक्ष्य युवालाई विदेश पठाएर भेटिदैन ।
मधेस प्रदेशमा एकीकृत समाजवादीको अवस्था कस्तो छ ?
संसदीय र संगठनको हिसावले मधेस प्रदेशमा हामी एमालेभन्दा बलियो छौँ । हिजो एमालेमा हुँदा प्रदेशमा २१ सिट जितेका थियौँ । आज हामी १३ प्रदेश सांसद एकीकृत समाजवादीमा छौँ । अधिवेशनबाट निर्वाचित अधिकांश जिल्ला कमिटी नेतृत्व हामीसँगै हुनुहुन्छ । स्थानीय तहमा पनि हाम्रो उपस्थिति बलियो नै छ । हामी एक्लै निर्वाचन लड्ने क्षमतामा छौँ । तर, प्रतिगामी शक्ति एक हुन लागेको अवस्थामा हामी अग्रगमनकारी शक्ति पनि मिलेरै निर्वाचनमा जानुपर्छ र शानदार जित सुनिश्चित गर्नुपर्छ भन्नेमा हामी छौँ ।
प्रतिगमनकारी शक्ति भनेर एमालेलाई भन्नुभएको हो ?
व्यवस्थामाथि नै धावा बोल्ने, संविधान कार्यान्वयन गर्ने ठाउँमा बसेर उल्टै संविधान मिच्दै हिड्ने, सार्वभौम संसदलाई गैरसंवैधानिक रुपमा पटक–पटक विघटन गर्ने ओली प्रतिगामी नै हुन् । एमालेमा ओली प्रवृत्ति बुर्जुवा ढंगले कम्युनिष्ट पार्टीलाई नै ध्वस्त गर्ने ढंगले अगाडि बढेको छ । ओली प्रवत्ति नसिद्धिएसम्म कम्युनिष्टहरू राम्रो ढंगले अगाडि जान सक्दैनन् । त्यसकारण बुर्जुवा ढंगले अगाडि बढेको एमालेलाई सिध्याउनुपर्छ । अनि मात्रै देशमा कम्युनिष्ट शक्ति बलियो हुन्छ ।
एमालेप्रति किन यति धेरै कठोर ?
ओलीप्रवृत्तिले न संगठन बन्छ, न विचार बन्छ, न नीति नै । ओलीप्रवृत्ति भनेको व्यक्तिवाद हो । त्यसकारण ओली प्रवृत्ति नसिद्धिएसम्म त सिस्टममा बस्नै दिँदैन । ओलीप्रवृत्तिले विधि, विधान र पद्धतिअनुसार चल्न दिँदैन । त्यसकारण एमाले सिद्धिन जरुरी छ ।
यसो भनिरहँदा तपाईँहरूले अपेक्षा गरेअनुसार एमालेबाट विद्रोह गरेर नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा आए त ?
एमालेबाट विद्रोह गरेर धेरै साथीहरू आउनुभएको छ । पोलिटब्यूरो सदस्य, केन्द्रीय कमिटीका सदस्यहरू, लामो समयसम्म राजनीतिक अनुभव बटुलेका धेरै कमरेडहरू एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । एमालेबाट मात्रै होइन, अन्य पार्टीबाट पनि समाजवादी कार्यक्रममा गोलबन्द हुन हाम्रो पार्टीमा प्रवेश गरिरहनुभएको छ । पार्टी प्रवेशको देशव्यापी लहर चलेको छ । लोकतान्त्रिक गणतन्त्र, संघीयतासहित प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादी कार्यक्रममार्फत देशको विकास गर्न नेकपा (एकीकृत समाजवादी)लाई रोज्नुको विकल्प छैन । ओलीले विश्वासघात गरे, हामी परिणाममुखी काम गरेर देखाउने छौँ ।