एजेन्सी । युद्धग्रस्त देश युक्रेनबाट ज्यान जोगाउन एक मिनेट बराबर ५५ जना बालबालिका शरणार्थी भइरहेका संयुक्त राष्ट्र संघले उल्लेख गरेको छ । गएको फेब्रुअरी २४ देखि रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।
त्यसयता हालसम्म तीस लाख बढीले युक्रेन छोडेर शरणार्थी जीवन बिताइरहेका राष्ट्रसंघसँग प्रारम्भिक तथ्यांक छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) का प्रवक्ता पल डिलनका अनुसार तीमध्ये करिब एक लाख ५७ हजार तेस्रो देशका नागरिक छन् । तीस लाखको आधा संख्यामध्ये करिब १५ लाख बालबालिकाले युक्रेन छोडेर छिमेकी देशमा शरण लिएका छन् । जारी युद्धका कारण प्रत्येक दिन ७० हजार बढी युक्रेनी बालबालिका शरणार्थी बनिरहेका जनाइएको छ ।
प्रत्येक मिनेट झण्डै ५५ जना बालबालिका जन्मभूमि त्यागेर विदेशिन बाध्य बन्नुपरेको संयुक्त राष्ट्र संघ बाल कोषका प्रवक्ता जेम्स एल्डरले उल्लेख गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।