Logo
Logo

फार्मेसीमा भएको अनियमितता छानबिन गर्न समिति गठन


693
Shares

फाइल फोटो

ताप्लेजुङ । जिल्ला अस्पतालको फार्मेसीमा आर्थिक अनियमितता गरेको आरोपमा चारजना कर्मचारी निलम्बनमा परेका छन् ।

आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनाका साथै छानबिन गर्न पाँच सदस्यीय समितिसमेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष घनेन्द्र मादेनको अध्यक्षतामा बुधवार बसेको बैठकले पाँच दिनभित्र प्रतिवेदन तयार गर्न छानबिन समिति गठन गरेको हो ।

सहायक प्रमूख जिल्ला अधिकारी यमबहादुर भट्टराईको संयोजकत्वमा अस्पतालका डा. दीपेन्द्र बोखिम, प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा थापा र स्वास्थ्य कार्यालयका विवेश थुलुङ सदस्य रहेको छानबिन समिति गठन गरिएको हो । उक्त समितिले प्रतिवेदन सार्वजनिक नगरुञ्जेलसम्म फार्मेसी सेवा बन्द हुने भएको छ । चिकित्सकले बिरामीको पूर्जामा लेखिएको औषधिबाहेक फार्मेसीमा कार्यरत कर्मचारीले थप गरेर लेखेको समितिले जनाएको छ ।

बिरामीसँग अतिरिक्त रकम असुल गरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको रकम दाबी गर्न बीमा फाँटलाई कागजात पेश गरेर बिरामी, अस्पताल र बीमा बोर्डलाई नै आर्थिक भार पर्नेगरी अनैतिक क्रियाकलाप गरेको हुनसक्ने आशंका गरिएको छ । दोषी नठहरिएसम्म आरोपित मात्र भएकाले कर्मचारीको नाम भने समितिले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्