Logo
Logo

फेल भएकालाई लाइसेन्स दिने यातायातका कार्यालय प्रमुखसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा दायर


9.5k
Shares


काठमाडौं । परीक्षामा फेल भएकालाई पास गराएर लाइसेन्स दिने यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले शुक्रबार नौ कर्मचारीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो । यातायत व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की गण्डकी प्रदेश, पोखराबाट मिति २०७५ मंसिर, २०७६ साल कार्तिक र मंसिरमा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गरिएको हो ।

मिति २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामध्येबाट विभिन्न मितिमा संचालन भएको विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरुलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरुलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरवदल गर्ने कार्य गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

जसमा संलग्न तत्कालीन समयमा यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की, गण्डकी प्रदेश, पोखरामा कार्यरत निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल, हाल भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय, कास्की गण्डकी प्रदेश पोखराका शाखा अधिकृत तथा तत्कालीन समयमा यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की, गण्डकी प्रदेश पोखरामा कार्यरत शाखा अधिकृत हरिप्रसाद गौतम, तत्कालीन समयमा यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की गण्डकी प्रदेश, पोखरामा कार्यरत अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेम प्रसाद श्रेष्ठ, अधिकृतस्तर छैठौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।


विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका परीक्षार्थीहरुमध्ये १६६ जना परीक्षार्थीहरुको इलोक्ट्रोनिक ड्राइभिङ लाइसेन्स भेहिकल रजिष्ट्रार सिष्टममा रिजल्ट अपडेट तथा रिजल्ट अप्रभ गर्ने क्रममा पास गरे गराएको तथा २ जना प्रयोगात्मक परीक्षामा पास भएका परीक्षार्थीहरुलाई रिजल्ट अपडेट गर्दा फेल गरी गराई जम्मा १६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको देखिएको साथै प्रयोगात्मक (ट्रायल) परीक्षामा खटिने निरीक्षकहरुले हस्ताक्षरसहित पेश गरेको नतिजा सूची गराई सोही नतिजाको आधारमा ट्रायल टेष्ट अपडेट र अप्रूभ हुनुपर्नेमा सो विपरीत हुनेगरी फेल तथा अनुपस्थित रहेका परीक्षार्थीहरुलाई पास र पास भएका परीक्षार्थीहरु फेल गरी गराई परीक्षाको परिणाम फेरबदल गरिएको आयोगको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्