गायक प्रकाश सपूतले सशस्त्र माओवादी जनयुद्धमा होमिएका तर, समस्याग्रस्त जीवन बाँचिरहेका लडाकु युवाहरुको बारेमा मार्मिक गीत ‘पीर’ निकालेपछि एक किसिमको हल्लाखोर जारी छ ।
देश चुनावको मुखैमा होमिन आँटेको बेला माओवादीलाई सिध्याउन यही गीत काफी छ भनेर कतिपय माओवादी आन्दोलनलाई सुरूदेखि नै मन नपराउनेहरुले बोलेका छन् । जनयुद्धमा लागेका केही लडाकु र कमाण्डरजस्तो भइसकेको व्यक्ति देह व्यापारमा लागेको चित्रण गर्नु लडाकु महिलाहरुप्रतिको हिंसा हो भनेर तर्क गरिरहेका छन् ।
माओवादी पार्टीका भातृ संगठनका नेताहरुले त वक्तव्य नै निकालेर तत्काल युट्युबबाट गीतलाई हटाउन र लडाकु महिलाहरुप्रति गरिएको हिंसाको लागि गायक सपूतले माफी माग्नुपर्ने माग राखेका छन् ।
सुन्दा गीत मर्मस्पर्शी छ । पश्चिमी भाकाको । गीत सुन्दा हेर्दा एउटा सिंगो पुस्तक पढेजस्तो लाग्दछ । दैनिकजसो अखबारमा आइरहने पूर्व लडाकुका पीडाहरुको सजीव चित्रणजस्तो । सिंगो चलचित्र हेरेजस्तो लाग्छ १५ मिनेटमा ।
भुइँ मान्छेका कथाहरुलाई भूमिकामा बाँधेर कथात्मकलयमा गीतबाट प्रस्तुत गर्ने सपूतको शैली हो । तर किन यति धेरै चासो र विवादमा पर्याे त यो गीत ? के माओवादी आन्दोलन त्यति कमजोर थियो र यो संगठन यति असक्त भइसकेको हो, जुन सपूतको एउटै ‘पीर’ले डगमग हुन जान्छ ।
सपूतले जे देखाएका छन्, लडाकु कमान्डरले गरेको देहव्यापारलाई विम्ब मान्दा सात सालको क्रान्तिमा लागेका कांग्रेसका लडाकु, सत्र सालको फौजी कूपछिको पञ्चायती व्यवस्थाको विरुद्ध युद्धमोर्चामा उभिएका झापाली आन्दोलनका लडाकुहरुदेखि जनयुद्धका जमिनका मानिसको सांगोपांगो कथाब्यथा एउटै हो ।
लडाकु कमान्डरले गरेको देहव्यापारलाई विम्ब मान्दा सात सालको क्रान्तिमा लागेका कांग्रेसका लडाकु, सत्र सालको फौजी कूपछिको पञ्चायती व्यवस्थाविरुद्ध युद्धमोर्चामा उभिएका झापाली आन्दोलनका लडाकुहरुदेखि जनयुद्धमा होमिएकाहरुको सांगोपांगो कथाब्यथा एउटै हो ।
देश बदल्छु भनेर निस्वार्थ भएर घर, परिवार त्यागेर आन्दोलनमा होमिनेहरु सधैँ उपेक्षित हुने, नेताका वरिपरि घुम्ने, राजनीतिलाई कमाउने भाँडो बनाउनेहरु दिन दुगुना रात चौगुना धनी बन्दै जाने कुरा त सत्य हो ।
सर्वहाराको गफ गर्दागर्दै कम्युनिष्ट नेता कसरी काठमाण्डूमा आलीसान महल जोड्न पुग्दछ, कसरी छोराछोरीलाई महंगा कलेजमा पढाउन सक्दछ ? मानिसहरुलाई सधैँ अचम्म लागिरहन्छ ।
कोभिडकालमा देखियो सरकार र जनताबीचको सम्बन्ध, जनताको वास्तविक अवस्था । नेताहरु निजी अस्पतालमा आफूलाई भेन्टिलेटर, बेड, आवश्यक औषधिको प्रबन्ध गरेर बस्दा जनताहरु अस्पतालको गेटबाट फर्किन बाध्य भए । अक्सिजन त टाढाको कुरा भयो, सिटामोलसमेत नपाएर मान्छे मरे ।
गरिब जनताको मुक्तिको निम्ति माओवादी नेतृत्वमा संघर्ष नभएको भए गणतन्त्र, संघीयताजस्ता अहिले प्राप्त भएका उपलब्धिहरु आउने थिएनन् । यो सत्य हो । तर सत्ताको केन्द्रमा माओवादी पुगेपछि नेताहरुमा विचलन आएको पनि सत्य हो ।
खानीका साहु, ठेकेदार, बोर्डिङका मालिक, निजी अस्पतालका लगानीकर्ताको रुपमा माओवादीको परिचय बदलिनु राम्रो कुरो त ? पक्कै होइन । जनयुद्धको क्रममा अंगभंग भएका, घाइते, अपांगहरुका निम्ति सशक्त कार्यक्रम ल्याएको भए माओवादीको यति धेरै आलोचना पनि हुने थिएन ।
माओवादी नेताहरु पनि शहरमुखी भएर आफू र आफ्नाका लागि चिन्ता गर्ने फगत अर्को ‘एमाले’ मा रूपान्तरित भएपछि सपूतहरुले यस्तो गीत गाउनु स्वाभाविक नै हो ।
दृश्य माध्यम भएकाले धेरै चर्चामा सपूतको गीत आयो । कवि विमल निभाको काव्य संग्रह ‘डेकेन्द्र राजवंशीको आत्महत्या’को पनि कुरो यही नै हो । झापा आन्दोलनमा सँगै होमिएका क्रान्तिकारी लडाकु डेकेन्द्र राजवंशी दैनिक जीवननै चलाउन धौधौ भएको अवस्थामा थिए ।
छोराको लागि केही उपाय निस्कन्छ कि भनेर एमालेको बल्खु मुख्यालय धाउँदा धाउँदा त्यहाँका नेताहरुको दुव्र्यवहार, उसबेलाका सहकर्मी खड्गप्रसाद ओलीले गरेको बेवास्ता सबै सबैबाट आजित भएर उनले एमालेको केन्द्रीय कार्यालय बल्खुमा रहेको बुटामा झुन्डिएर आत्महत्या गरेका थिए ।
माओवादी नेतृत्वमा पनि त्यही विकृत मानसिकता बढेको हो । सरकारमा पुगेपछि सँगै युद्धमा होमिएकाहरुको उचित बन्दोबस्ती पहिलो प्राथमिकता हुनुपर्ने थियो, आजसम्म माओवादी त्यसमा चुकिरहेको छ ।
एउटा सत्य के हो भने, कुनै पनि पार्टी माओवादी त्यतिबेलासम्म रहन्छ, जतिबेलासम्म ऊ जनताको सियोसम्म नलिने, जनतालाई केन्द्रमा राखेर आफूलाई सेवक ठानेर काम गर्दछ ।
देश केवल भूगोल मात्र होइन, देश त्यहाँका जनता र तीनभित्रको अनुभूति हो । राज्य मेरो पनि हो भन्ने अनुभूति हो । जन्मेदेखि नमर्दासम्म आफ्नो नाममा कोही बाँकी नरहे पनि मेरो निम्ति देश छ भन्ने जनताको अनुभूति हुनु देशप्रति वर्ग गर्नु । त्यही भावनाले त मानिस देशका निम्ति हाँसीहाँसी बलिबेदीमा चढ्न तयार हुन्छ ।
माओवादी चिन्तन, व्यवहार र आदर्शलाई काठमाण्डूको सत्तासँग साटेपछि माओवादी केवल बोर्ड झुन्ड्याएको अर्को एमाले बनेको छ । पशुपति शर्माको लुट्न सके लुट कान्छा या प्रकाश सपूतको पीर गीतलाई प्रतिबन्ध लगाएर समस्याको समाधान हुँदैन । नेताहरु आजै, अहिल्यै आफूलाई फेर्नुपर्छ ।
अर्को बुझ्नुपर्ने कुरा के पनि हो भने, माओवादीले उठाएका एजेण्डा केवल माओवादीका मात्र थिएनन् । ती त आम नेपालीका एजेण्डा थिए । माओवादी जनयुद्धलाई धनयुद्ध भन्नेहरुले परिवर्तन पनि बुझ्नु पर्दछ । नेपाली जनताको जीवनस्तर सुधार गर्न जति माओवादीको दायित्व छ, अरुको पनि उत्तिकै छ । माओवादीलाई धारे हात लगाएर अरुले छुट पाउन मिल्दैन ।
प्रकाश सपूतको गीतले छोएकै हो भने उनलाई धन्यवाद दिँदै एकीकृत शक्तिको निम्ति पहल गर्दै, जनयुद्धको क्रममा दुःख पाएका लडाकुहरुको व्यवस्थापनको काम आजैबाट थाल्नु उपयुक्त हुनेछ ।
क्रान्तिको मूल प्रवाहबाट भागेर सपूतको कुरामा तालीमात्रै बजाएर बाबुराम भट्टराईहरुले सुख पाउने छैनन् । संयुक्त क्रान्तिको एउटै मोर्चा विप्लव, किरणहरुले पनि खोज्नुपर्दछ । बजारमुखी समाज र सूचना प्रविधिको यो युगमा त्यही लय र गतिमा अघि नबढे इतिहासको मिथक भएर हराइन्छ ।
मदनपोखरा, पाल्पा