Logo
Logo

क्यान इन्फोटेक २०२२ को ८० प्रतिशत स्टल बुकिङ पूरा


189
Shares

काठमाडौं । आगामी २०७८ वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने क्यान इन्फोटेक २०२२ को ८० प्रतिशत स्टल बुकिङ पूरा भएको छ ।

सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी एकमात्र प्रदर्शनीको २७औँ संस्करण यसअघि कोभिड–१९ तथा त्यससम्बन्धी सरकारका निर्णयलाई ध्यानमा राख्दै दुईपटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यसपटक काठमाडौँमा मात्र हुने भएको छ । गत वर्ष प्रदर्शनी आयोजना हुन नसकेका कारण पनि यसपटक सरोकारवालामा उत्साह देखिएको छ ।

इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट, लर्निङ सेन्टर, देशभित्रका स्टार्टअप, मोबाइल, आइटी कलेज र नवीनतम् सोचमा आधारित रहेर सूचना प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीद्वारा निर्मित प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य आकर्षण हुनेछन् ।

स्टल बुकिङका आधारमा प्रदर्शकहरुले विश्व बजारमा हालसालै आएका एवं उपलब्ध नवीनतम् प्रविधिका साथसाथै अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोलुशन, मोबाइल फोन तथा एक्सेसरिज, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुशन, सिसीटीभी र हार्डडिस्कजस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने बताइएको छ ।

त्यसैगरी आर्टीफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, सूचना प्रविधिमा आधारित कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रदर्शनीमा प्रदर्शकहरुले तयारी गरेका छन् ।

२७औँ क्यान इन्फोटेकको शीर्ष प्रायोजन आइएमइ पे, एसोसिएट प्रायोजकमा एससिटी स्मार्ट क्यू आर तथा टिकट पार्टनरमा आइएमइ पेले प्रायोजन गरेको छ भने प्लाटिनम प्रायोजन वल्र्डलिंक कम्युनिकेसन डायमण्ड प्रायोजन डिसहोम फाइवरनेट, सिल्भर प्रायोजनमा एस पावर, नमस्ते पे, डिजिकम र ब्रोडवे इन्फोसिसले गरेको छ । इन्नोवेसन पार्टनर सनवे बिजनेस सकूल, एकेडेमिक पार्टनर सफ्टवेरिका कलेज, डिजिटल डिस्प्ले पार्टनर अल्ट्रा लेड, भर्चुअल प्रदर्शनी पार्टनर मण्डला सिस्टम, फुड एण्ड बेभरेज पार्टनर रेवान रहेको छ । उक्त प्रदर्शनीलाई सञ्चार तथा सूचना प्रविधी मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सुविसु केवलनेट, भायानेट, नेपाल मोबाइल डिस्ट्रिव्युटर एशोसिएसनको तथा विट्सा एवं असोसिओजस्ता अन्तर्राष्ट्रिय संस्थाको पनि सहयोग रहेको जनाइएको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीको आवश्यकता थाहा पाउन सन् १९९५ देखि वर्षेनी आयोजना हँुदै आएको क्यान इन्फोटेकको २७औं संस्करण २०७९ वैशाख ७ देखि १२ गतेसम्म आयोजना गरिन लागिएको हो । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यानका महासचिव नारायण थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्